गुलरियामा ‘च्याम्पियन ट्रफी’ क्रिकेट प्रतियोगिता सुरु, नेपाल–भारतका आठ टोली सहभागी

57

पर्सा, २३ कात्तिक ।

दीपावली तथा छठ पर्वको अवसरमा पर्साको धोबीनी गाउँपालिका–३ गुलरियामा आयोजित ‘गुलरिया च्याम्पियन ट्रफी क्रिकेट टुर्नामेन्ट’ सोमबारदेखि सुरु भएको छ।

गुलरिया क्रिकेट क्लबको आयोजनामा गुलरिया क्रिकेट मैदानमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन धोबीनी गाउँपालिका–३ का वडाध्यक्ष राजकिशोर प्रसाद कुर्मीले रिबन काटेर गरेका हुन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडाध्यक्ष कुर्मीले गाउँमा क्रिकेट प्रति बढ्दै गएको उत्साह र युवाहरूको सक्रियताको प्रशंसा गर्दै आयोजक तथा खेलप्रेमीहरूलाई धन्यवाद व्यक्त गरे। उनले खेलकुदले शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै खेलकुद स्वास्थ्यका लागि औषधिसरह रहेको बताए।

खेलकुदका माध्यमबाट गाउँपालिकाको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म स्थापित गर्न सकिने उनको भनाइ थियो। साथै, आगामी दिनमा युवाहरूलाई खेलकुद प्रति थप उत्साहित बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सुदिल पटेल र वशिष्ट अतिथी नारायण प्रसाद कुर्मीको उपस्थिति रहेको थियो। त्यसैगरी, गुलरिया क्रिकेट क्लबका अध्यक्ष घनश्याम पटेल, सावन पटेल, उपाध्यक्ष प्रतिनिधि एवं नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि श्यामकिशोर कुर्मी, धोबीनी गाउँपालिका–४ का वडाध्यक्ष अबास मियाँ, योजना शाखा प्रमुख पपु पटेल, प्रशासन प्रमुख सञ्जय यादव, पूर्वशिक्षक पारस पटेल, ईसरायल देवान, धर्मेन्द्र पटेल, पनालाल साहलगायत खेलप्रेमी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

आयोजक संस्थाका अध्यक्ष घनश्याम पटेलका अनुसार प्रतियोगितामा नेपाल र भारतका गरी आठवटा टोलीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक गुलरिया क्रिकेट क्लब र मधेस टाइगरबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा मधेस टाइगरले जित हासिल गरेको आयोजकले जनाएको छ।

त्यस्तै, प्रतियोगिताको दोस्रो दिन भारतको सीतामढी र पश्चिम चम्पारणबीच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ।

स्थानीय स्तरमा क्रिकेट खेलको विकास, युवाहरूको प्रतिभा पहिचान तथा खेलकुदप्रति आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.