आगलागी पीडितको घाउमा मलम लगाउँदै बृजेश्वर प्रसाद चौधरी, खाद्यान्न सहित लत्ताकपडा सहयोग
वीरगञ्ज आनन्द पटेल।
पर्साको जगरनाथपुर गाउँपालिका–१ पिपरडाढीका आगलागी पीडित रविन्द्र साह गोलदारको परिवारलाई बृजेश्वर प्रसाद चौधरीको विशेष पहलमा खाद्यान्न तथा लत्ताकपडा सहयोग गरिएको छ।
नाम सार्वजनिक नगर्ने सर्तमा एक उद्योगी व्यवसायीले पीडित परिवारलाई करिब १६ हजार ५०० रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराएका हुन्।
सहयोग सामग्रीमा ३ बोरा चामल, १ बोरा चिउरा, ४ प्याकेट आँटा, १ बोरा आलु, १० किलो प्याज, रिफाइन तेल, साबुन, सर्फ, विभिन्न प्रकारका मसला तथा दाललगायतका खाद्यान्न सामग्री रहेका छन्। साथै, परिवारकी एक छठ व्रतालु महिलालाई साया, ब्लाउजसहित एक सेट साडी तथा अन्य लत्ताकपडा समेत प्रदान गरिएको छ।
राहत प्राप्त गरेपछि पीडित परिवारले सहयोगी उद्योगी व्यवसायी तथा पहलकर्ता चौधरीप्रति धन्यवाद व्यक्त गरेका छन्। साथै, घरमा सहयोग गर्ने भन्दै पुग्ने कतिपय व्यक्तिहरूले फोटो खिचाउने र आश्वासन मात्र दिएर फर्किने गरेको भन्दै गुनासो समेत गरेका छन्। उनीहरूले वास्तविक सहयोगको अपेक्षा राखे पनि अहिलेसम्म आश्वासनबाहेक केही प्राप्त नभएको बताएका छन्।
यसै साता दीपावलीको राति विद्युत्को तार सर्ट भएर अचानक आगलागी हुँदा गोलदारको फुसको घर पूर्ण रूपमा जलेर नष्ट भएको थियो। आगलागीबाट घरमा रहेका खाद्यान्न, लत्ताकपडा, फर्निचरलगायतका सरसामान गरी करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
आगलागीपछि परिवारको दैनिक जीवनयापन समेत प्रभावित बनेको छ। हाल प्राप्त सहयोगले केही राहत मिले पनि पीडित परिवारलाई अझै थप सहयोगको आवश्यकता रहेको छ।
त्यसैले पीडित परिवारको दुःखमा साथ दिन इच्छुक व्यक्ति, संघसंस्था तथा समाजसेवीहरूलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्न अपिल गरिएको छ।