कलैयामा भीषण आगलागी, तीन घरमा क्षति; १० लाख भन्दा बढीको धनमाल नष्ट

69

बारा, ८ मंसिर। बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वामा मंगलबार बिहान भएको आगलागीबाट तीन घरमा क्षति पुगेको छ। आगलागीमा परी १० लाख रुपैयाँभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।

मंगलबार बिहान करिब ३ बजे स्थानीय रतन महरा चमारको घरबाट सुरु भएको आगो फैलिएर छिमेकी धुरेन्द्र महरा र हरिन्द्र रामको घरसम्म पुगेको थियो।

विद्युत् तार सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। आगलागीबाट रतनको घरमा रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, गरगहना, दुईवटा साइकल तथा घरपालुवा बाख्रा जलेर नष्ट भएका छन्।

आगलागीको खबर पाएलगत्तै स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको थियो। उनीहरूले वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए।

प्रहरी चौकी मटिअर्वाका प्रमुख प्रहरी नायब निरीक्षक राकेश साहका अनुसार प्रारम्भिक विवरणमा आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.