मधेशको पदक लक्ष्य सहित पर्सामा तेक्वान्दो खेलाडीलाई विशेष प्रशिक्षण

50

वीरगञ्ज आनन्द पटेल।

कर्णाली प्रदेशमा आयोजना हुन गइरहेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै मधेश प्रदेशका आठवटै जिल्लाका उत्कृष्ट तेक्वान्दो खेलाडीहरूलाई समेटेर पर्सामा विशेष क्लोज क्याम्प सञ्चालन भइरहेको छ।

पर्सा जिल्ला खेलकुद विकास समितिको प्राङ्गणमा सञ्चालन भइरहेको उक्त क्लोज क्याम्पमा मधेश प्रदेशका आठवटै जिल्लाबाट छनोट भएका खेलाडीहरूको सहभागिता रहेको छ। राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक हासिल गर्ने उद्देश्य सहित खेलाडीहरूलाई विशेष प्रशिक्षण प्रदान गरिँदै आएको छ।

क्लोज क्याम्प अन्तर्गत फाइटिङ तर्फ अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी तथा प्रशिक्षक महमद वेश गुरुले प्रशिक्षण दिइरहनु भएको छ। उहाँले खेलाडीहरूको फाइटिङ क्षमता, खेल रणनीति, प्रतिस्पर्धात्मक सीप तथा शारीरिक तयारीलाई थप मजबुत बनाउने उद्देश्यले प्रशिक्षण प्रदान गरिरहनु भएको छ।

त्यसैगरी, पुम्सेतर्फ प्रशिक्षक विजय साह ठकुरीले खेलाडीहरूलाई आवश्यक प्राविधिक ज्ञान, सीप तथा अभ्याससम्बन्धी प्रशिक्षण दिइरहनु भएको छ।

प्रशिक्षणका क्रममा खेलाडीहरूलाई तेक्वान्दो खेलका नियम, अंक प्राप्त गर्ने प्रक्रिया, अंक कटौती हुने अवस्था, गाम्जोमेन्टका कारण, रेफ्रीका निर्देशन तथा प्रतियोगितामा पालना गर्नुपर्ने अनुशासनबारे समेत विस्तृत जानकारी दिइँदै आएको छ।

यस क्लोज क्याम्पलाई व्यवस्थित र प्रभावकारी बनाउन पर्सा जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष गणेशमान श्रेष्ठले अभिभावकीय भूमिका निर्वाह गरिरहनु भएको छ। उहाँले सबै खेलाडी तथा प्रशिक्षकलाई एउटै परिवारका रूपमा एकताबद्ध गर्दै अनुशासन, मेहनत, आपसी सहकार्य र उत्कृष्ट प्रदर्शनका लागि निरन्तर प्रेरित गरिरहनुभएको छ।

राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशको बलियो उपस्थिति देखाउने र अधिकतम पदक हासिल गर्ने लक्ष्यसहित सञ्चालन भइरहेको यस विशेष प्रशिक्षणले खेलाडीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै प्रदेशको तेक्वान्दो खेललाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

एकता, अनुशासन र मेहनतका साथ दशौँ राष्ट्रिय खेलकुदमा मधेश प्रदेशको शान बढाउने लक्ष्य सहित खेलाडीहरू तयारीमा जुटेका छन्।

Leave A Reply

Your email address will not be published.