महोत्तरीको मटिहानी नगरपालिका मधेश प्रदेशकै पाँचौँ र महोत्तरी जिल्लाको दोस्रो साक्षर नगर घोषणा

412

जेठ ३, वीरगञ्ज । महोत्तरीको मटिहानी नगरपालिका मधेश प्रदेशकै पाँचौँ र महोत्तरी जिल्लाको दोस्रो साक्षर नगर घोषणा भएको छ। १५ देखि ६० वर्ष उमेर समूहका साढे तीन हजार नागरिकलाई व्यावहारिक सीपसहित साक्षर बनाएर घोषणा गरिएको हो।

आफ्नो र परिवारको नाम ठेगाना लेख्न सक्ने, आफूले गर्ने सामान्य आर्थिक कारोबारको जोड–घटाउ गर्न सक्ने, मोबाइल चलाउन सक्ने, घडी हेर्न जान्नेलगायत साक्षरताका १२ वटा सूचक पूरा गर्ने तीन हजार ६ सय नागरिकलाई नगरपालिकाले साक्षर बनाएको बताइएको छ।

नगरपालिकाले साक्षर नगर बनाउन ०८० असोजदेखि नै साक्षरता अभियान सञ्चालन गर्दै आएको थियो। अब नगरपालिकाको साक्षरता दर ९५.१६ प्रतिशत पुगेको छ।

नगर प्रमुख हरिप्रसाद मण्डलको अध्यक्षता र जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनलाल कर्णको प्रमुख आतिथ्यतामा घोषणा कार्यक्रम सम्पन्न भएको हो। प्रमुख अतिथि कर्णले नगर प्रमुख मण्डललाई साक्षर पालिकाको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

यसअघि जिल्लाको जलेश्वर नगरपालिका साक्षर घोषणा भइसकेको छ।

Leave A Reply

Your email address will not be published.