स्वर्गीय श्रीमानको सपना साकार गर्दै उपप्रमुख चौधरीद्वारा आर्यघाट निर्माणका लागि २ कट्ठा १० धुर जग्गादान

281

 

कुमार चन्दन, असार ०४ रौतहट । रौतहटको गरुडा नगरपालिकाकी नगर उपप्रमुख पुनमकुमारी चौधरीले आर्यघाट निर्माणका लागि जग्गादान गरेकी छिन् । हिन्दूहरुका पार्थिव शरीरको दाहसंस्कारका लागि गरुडाबासी वर्षौ देखी भोग्दै आएको समस्यालाई मध्यनजर गर्दै आर्यघाट निर्माणका लागि जग्गादान गरेकी छिन् । 

गरुडा नगरपालिका–४, गरुडामा व्यवस्थित रुपमा आर्यघाट निर्माणका लागि आफ्नो निजी २ कट्ठा १० धुर जग्गा दान दिएकी नगर उपप्रमुख पुनमकुमारी चौधरीले जानकारी दिइन् । उपप्रमुख चौधरीले आफ्नो स्वर्गीय पति सञ्चारकर्मी तथा सामाजिक अभियन्ता मनोजकुमार चौधरीको नाममा आर्यघाटको नामाकरण सहितको व्यवस्थित आर्यघाटको लागि जग्गादान गरेकी हुन् ।

गरुडामा सञ्चालित रेडियो मधेश मसलाको स्टेशन प्रमुखको रुपमा रहँदै आएका पत्रकार चौधरीको दोस्रो चरणको लहरमा कोरोना भाइरसले २०७८ वैशाख २९ गते उपचारका क्रममा निधन भएको थियो ।

समाजको विकास र सामाजिक कार्यमा अधिक रुची राख्ने चौधरीको नामले सबैको लाभ हुने कार्यका लागि जग्गादान दिएको उपप्रमुख चौधरीको भनाइ छ । अव्यवस्थित रुपमा हुँदै आएको दाहसंस्कार अब आर्यघाट निर्माण भएपछि व्यवस्थित हुने स्थानीयहरुले बताएका छन् । दान गरिएको सो जग्गामा चारैतिरबाट पर्खाल लगाएर सुरक्षित गर्ने उपप्रमुख चौधरीले बताइन् ।

गरुडा नगरपालिका वडा नं.४ कार्यालयको नाममा आर्यघाट निर्माण कार्यको लागि आफनो निजी जग्गा २ कट्ठा १० धुर २०८१ जेष्ठ २७ गतेका दिन गरुडा नगरपालिका वडा नं. ४ को कार्यालयको नाममा रजिस्ट्रेशन गरेर दान गरि उप प्रमुख चौधरीले ऐतिहासिक कार्य गरेको स्थानियहरुले प्रशंसा गरेका छन । उप प्रमुख चौधरीले आर्यघाट निर्माण कार्य संगै गरुडाबासिको उन्नति प्रगति तथा हकहितको लागि हरदम तत्पर रहने सामाजिक अभियन्ता स्वर्गीय मनोजकुमार चौधरी (निजको श्रीमान) को नामाकरण सहितको प्रवेशद्वार निर्माण गर्ने घोषणा समेत गरेकी हुन । नगर उपप्रमुख चौधरीले आफ्नो स्वर्गीय श्रीमान मनोजकुमार चौधरीको सामाजिक कार्यमा उनको अधुरो रहेको सपनाहरु आफुले सकेसम्म सामाजिक कार्य गरि पूरा गर्ने बताइन् ।

मंगलवार एक कार्यक्रमका बिच नगर प्रमुख कन्थमणी कलवार, वडा नं. ४ का वडा अध्यक्ष सुनील जयसवाल, वडा सदस्य देवलाल चौधरी, रामएकबाल रौनियार, पूर्व वडाध्यक्ष चुनचुन साह, बुद्धिजीवी तथा भद्रभालदमीहरुको रोहबरमा जग्गा धनि दर्ता प्रणाम-पुर्जा वडा कार्यालयको नाममा वडा अध्यक्षलाई जयसवाललाई नगर उप-प्रमुख चौधरीले जग्गा हस्तान्तरण गरेकी छिन । उक्त कार्यको लागि उप प्रमुख चौधरीको चौतर्फी प्रशंसा हुन थालेको स्थानियहरुले बताएका छन ।

Leave A Reply

Your email address will not be published.