सखुवा प्रसौनीमा अतिक्रमित संरचना भत्काइँदै
पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ स्थित पारसनाथ महादेव मन्दिरको गुठी जग्गामा गरिएको अतिक्रमण हटाउन गाउँपालिका र गुठी संस्थानले संयुक्त रूपमा डोजर चलाएको छ। वर्षौंदेखि अतिक्रमणमा परेको मन्दिर तथा पोखरी क्षेत्र खाली गराउन आइतबारदेखि संरचना हटाउने अभियान सुरु गरिएको हो।
साविक मवान गाविस–२ अन्तर्गत रहेको पारसनाथ महादेव मन्दिरको मठको कित्ता नम्बर २७५ मा पर्ने करिब ५ बिघा १७ कट्ठा १४ धुर जग्गा करिब ४५ जनाले अतिक्रमण गरी पक्की घर तथा टहरा निर्माण गरेका थिए। गाउँपालिका र गुठी संस्थान पर्साले पटक–पटक जग्गा खाली गर्न आग्रह गरे पनि अतिक्रमण हटाउने काम प्रभावकारी रूपमा अघि बढ्न सकेको थिएन।
पछि एक स्थानीय बासिन्दाले काठमाडौंस्थित गुठी संस्थानमा लिखित उजुरी दिएपछि गुठी संस्थान र सखुवा प्रसौनी गाउँपालिकाले संयुक्त रूपमा अतिक्रमित क्षेत्रमा डोजर चलाएर पक्की भवन तथा टहरा भत्काउन सुरु गरेका हुन्।
स्थानीयका अनुसार साविक मवान गाविस–१ मा रहेको कित्ता नम्बर १ को ९ कट्ठा ४ धुर र कित्ता नम्बर २ को १५ कट्ठा १७ धुर जग्गासमेत केही व्यक्तिले अतिक्रमण गरेर प्रयोग गरिरहेका छन्। ती जग्गा पनि खाली गराउनुपर्ने माग स्थानीयवासीले गरेका छन्।
हाल अतिक्रमण गरी निर्माण गरिएका पक्की संरचना हटाउने काम जारी रहेको जनाइएको छ। वर्षौंदेखि पारसनाथ मन्दिरको पोखरी क्षेत्र कब्जा गरी प्रयोग गर्दै आएका व्यक्तिहरू भने अहिले तनावमा परेका छन्। आफ्ना भवन भत्किने निश्चित देखिएपछि केही अतिक्रमणकारी असन्तुष्ट बनेका स्थानीयले बताएका छन्।