पारसनाथ मन्दिर क्षेत्रको गुठी जग्गा अतिक्रमणमुक्त, ३०० बढी घर टहरा डोजरले
वीरगञ्ज, १३ वैशाख
पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–५ महुवनस्थित गुठीको अतिक्रमित जग्गामा निर्माण गरिएका घर तथा टहराहरू आइतबार डोजर प्रयोग गरी हटाइएको छ।
महुवनस्थित पारसनाथ मन्दिरसँग सम्बन्धित करिब ६ विघा गुठी जग्गा ७ वटा डोजर परिचालन गरी खाली गराइएको गुठी संस्थान वीरगञ्जले जनाएको छ। यसअघि संस्थानले वैशाख १० गते सूचना जारी गर्दै श्री पारसनाथ महादेव महुवन मठ गुठीअन्तर्गत पर्ने साविक महुवन वडा नं. ५ को किता नं. २७६ मा रहेको पोखरी डिलसहित ५ विघा १७ धुर क्षेत्रफलमा अनधिकृत रूपमा निर्माण गरिएका संरचना स्वेच्छाले हटाउन आग्रह गरेको थियो।
तर अतिक्रमणकारीहरूले संरचना नहटाएपछि आइतबार डोजर प्रयोग गरी ती संरचना हटाइएको गुठी संस्थान वीरगञ्जकी प्रमुख उर्मिला अर्चायले जानकारी दिइन्। उनका अनुसार लामो प्रयासपछि पर्सा जिल्लाकै ऐतिहासिक धरोहरका रूपमा रहेको पारसनाथ पोखरी क्षेत्रलाई अतिक्रमणमुक्त बनाउन सफल भएको हो।

सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादवका अनुसार गुठीको जग्गामा निर्माण गरिएका ३०० भन्दा बढी घर तथा टहराहरू हटाइएको छ। महुवनस्थित पारसनाथ मठको ५ विघा १७ धुर क्षेत्रफलमा फैलिएको अतिक्रमण आइतबार पूर्ण रूपमा हटाइएको उनले बताए।
अतिक्रमण हटाउने क्रममा सुरक्षा व्यवस्था कडा पारिएको थियो। करिब ३०० जनाको संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको थियो। उक्त क्षेत्रमा लामो समयदेखि केही परिवारले घर निर्माण गरी बसोबास गर्दै आएका थिए।
यसैबीच, केही स्थानीयले आफूहरू लामो समयदेखि बसोबास गर्दै आएको घर डोजर प्रयोग गरी हटाइएको भन्दै असन्तुष्टि समेत जनाएका छन्।