हैजा नियन्त्रणमा समुदायलाई सचेत बनाउँदै परवानीपुर गाउँपालिका
वीरगंज । बाराको परवानीपुर गाउँपालिकाले हैजा रोग नियन्त्रणका लागि सबै वडामा अनुगमन समिति गठन गरी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको अगुवाइमा वडामा जनचेतनामूलक र्यालीसमेत निकालिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका बासिन्दालाई हैजा सम्बन्धी आवश्यक जानकारी र सचेतना फैलाउनका लागि सञ्चालन गरिएको यस अभियानले स्थानीयस्तरमा सकारात्मक प्रभाव पारेको प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारले जानकारी दिएका छन् ।
उनका अनुसार, हैजाबाट बच्न सबैभन्दा पहिले व्यक्तिगत र सामूहिक सरसफाइमा विशेष ध्यान दिनु आवश्यक छ । उमालिएको वा फिल्टर गरिएको मात्र सुरक्षित खानेपानी सेवन गर्नुपर्ने, पानी भण्डारण गर्दा सफा भाँडाकुँडामा राख्नुपर्ने र व्यक्तिगत सतर्कता अपनाउनुपर्नेमा पनि विशेष जोड दिइएको छ ।