वीरगंज महानगरपालिकाको बजेट पुनःनिर्माणमा, सहिद असहाब आलम परिवारलाई ५ लाख सहयोग
वीरगंज । आनन्द पटेल
वीरगंज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट संशोधन गरी पुनःनिर्माणतर्फ केन्द्रित गर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न विशेष नगरसभाले पुनःनिर्माणसम्बन्धी प्रस्ताव सर्वसम्मत पारित गर्दै, जेनजी आन्दोलनका क्रममा ध्वस्त बनेको नगर संरचनाको पुनःस्थापना तत्काल अघि बढाउने घोषणा गरेको हो।
गत भदौ २४ गते सचेत युवाहरू (जेनजी) ले गरेको आन्दोलनका क्रममा महानगर कार्यालयसहित विभिन्न संरचनामा आगजनी, तोडफोड र लुटपाट भएको थियो । सेवाप्रवाह निरन्तरता दिन तत्काल पुनःनिर्माणलाई प्राथमिकता दिनुपर्ने निष्कर्षसहित नगरसभाले बजेट संशोधनको बाटो समातेको हो।
महानगर प्रमुख राजेशमान सिंहले प्रस्तुत गर्नुभएको संशोधित बजेटलाई नगरसभाले सर्वसम्मत अनुमोदन गरेको छ। यस अघि प्रस्तुत ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेटभित्र पूँजीगत योजना, सामाजिक विकास कार्यक्रम तथा वडा स्तरका योजनाबाट रकम स्थानान्तरण गरी करिब ३० करोड रुपैयाँ पुनःनिर्माणमा विनियोजन गरिने भएको छ।
संशोधित बजेटमार्फत प्रशासनिक भवन निर्माण, सवारीसाधन खरिद, कम्प्युटर, ल्यापटप, प्रिन्टर, फर्निचर, मेसिनरी उपकरण, कार्यालय मर्मत, गाडी भाडा, बिजुलीबत्ती र अन्य आवश्यक सामग्री खरिदमा खर्च गर्ने व्यवस्था गरिएको छ।
यसैगरी, विशेष नगरसभाले जेनजी आन्दोलनका क्रममा काठमाडौंमा प्रहरीको गोली लागेर सहादत प्राप्त गरेका वडा नं. १२ निवासी युवा असहाब आलमको परिवारलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय पनि सर्वसम्मत पारित गरेको छ।
नगरसभाले स्पष्ट पारेअनुसार, संशोधित बजेटले तत्काल नगर पुनःनिर्माण, भौतिक संरचना पुनःस्थापना तथा प्रशासनिक क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउनेछ।