इण्डोनेसिया : विद्यालयीय खाना सेवनपछि एक हजार भन्दा बढी विद्यार्थी बिरामी परे
काठमाडौं। इण्डोनेसियामा निःशुल्क विद्यालय खाना खाएका १ हजारभन्दा बढी बालबालिका बिरामी परेका छन्।
पश्चिमी जाभा प्रान्तका विभिन्न चार स्थानमा सोमबार र बुधबारबीच खाद्य विषाक्तताका कारण विद्यार्थी बिरामी परेको प्रान्तीय गभर्नर डेडी मूल्यादीले जनाएका हुन् । गत हप्तामात्रै जाभा र सेन्ट्रल सुलावेसी प्रान्तमा ८ सय बालबालिका बिरामी परेका थिए ।
बालबालिकालाई दिइएको खानामा सोया सस चिकेन, फ्राइड तोफु, तरकारी र फलफूल थियो । तर त्यसमध्ये प्रयोग गरिएको सोया सस म्याद नाघेको पाइएको छ ।
खाना खाएका विद्यार्थीहरूमा पेट दुख्ने, टाउको दुख्ने, बेहोस हुने र श्वास फेर्न समस्या हुने लक्षण देखिएका छन् । यस घटनापछि कार्यक्रम बन्द गर्नुपर्ने माग चर्किए पनि सरकारले भने अस्वीकार गरेको छ ।
राष्ट्रपति प्रबोवो सुवियान्तोले सुरु गरेका यस कार्यक्रमअन्तर्गत हाल करिब २ करोड विद्यार्थी सहभागी छन् । यसलाई विस्तार गर्दै यो वर्षभित्रै ८ करोड ३० लाख बालबालिका समेट्ने लक्ष्य लिइएको छ । कार्यक्रमका लागि १० अर्ब डलर बराबरको बजेट विनियोजन भएको छ भने अर्को वर्ष बजेट दोब्बर गर्ने तयारी छ।