विश्वकप छनोटमा नेपालको शानदार सुरुवात, कुवेतलाई ५८ रनले पराजित
काठमाडौं । आइसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्यासिफिक क्षेत्र छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गरेको छ । समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमै प्रभावशाली जित दर्ता गर्दै सुपर सिक्समा स्थान पक्का गरेको हो ।
ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो । जवाफमा १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमै ८३ रनमा अल आउट भयो ।
कुवेतका लागि क्लिन्टो एन्टोले सर्वाधिक २६ रन बनाए भने यासिन पटेलले १९ रनको योगदान दिए । अन्य ब्याटरहरू दोहोरो अंकमा पुग्न सकेनन् ।
नेपालका लागि कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र ललित राजवंशीले समान २–२ विकेट लिए भने सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले १–१ विकेट लिएका थिए ।
यसअघि ब्याटिङमा नेपालका कुशल भुर्तेलले शानदार प्रदर्शन गर्दै ५६ बलमा ६६ रन जोडे । उनले ३ चौका र ३ छक्का प्रहार गर्दै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो १२औं अर्धशतक पूरा गरे । कप्तान रोहित पौडेलले १६ रन, दीपेन्द्र सिंह ऐरी र गुल्सन झाले समान २०–२० रनको योगदान दिए ।
कुवेतका लागि नवीनराज राजेन्द्रन र अनुदिप चन्दामाराले समान २–२ विकेट लिए भने मोहम्मद अकिफ फारुक र मोहमद अस्लमले १–१ विकेट लिएका थिए ।
यो जितसँगै नेपालले आत्मविश्वासपूर्ण सुरुवात गरेको छ र समूह चरणको दोस्रो खेल अक्टोबर १० मा जापान विरुद्ध खेल्ने छ ।