राजस्थानमा चलिरहेको बसमा आगलागी, कम्तीमा २० जनाको मृत्यु

57

एजेन्सी — भारतको पश्चिमी राज्य राजस्थानमा मंगलबार बिहान एक निजी बसमा आगलागी हुँदा कम्तीमा २० जनाको ज्यान गएको सरकारी अधिकारीहरूले जनाएका छन्।

घटना जैसलमेर जिल्लास्थित थायत गाउँ नजिकै भएको हो। राजधानी जयपुरबाट करिब ५४८ किलोमिटर पश्चिममा रहेको उक्त स्थानमा यात्रा गरिरहेको बेला बसमा अचानक आगो लागेको थियो।

अधिकारीका अनुसार ५७ जना यात्रु सवार रहेको बस राजमार्गमा गुडिरहेको बेला पछाडिबाट धुवा निस्किएपछि चालकले तुरुन्तै बस रोकेका थिए। तर केही समयमै बसमा ठूलो आगो सल्किँदा धेरै यात्रु फसेका थिए।

आगलागीमा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। आगलागीको ठ्याक्कै कारण नखुले पनि प्रहरीका अनुसार विद्युतीय सर्ट सर्किटका कारण आगो लागेको हुन सक्ने अनुमान गरिएको छ।

घटनास्थलमा उद्धार तथा आगो नियन्त्रणका लागि दमकल र सुरक्षाकर्मी परिचालन गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।

Leave A Reply

Your email address will not be published.