चार जिल्लाका सीमाक्षेत्रमा सुरक्षा चुनौतीबारे उच्चस्तरीय अन्तरक्रिया तथा निरीक्षण–निर्देशन कार्यक्रम सम्पन्न

12

वीरगंज, १८ कात्तिक — आनन्द पटेल

मधेश प्रदेशका चार सीमा जिल्लाहरू — सर्लाही, रौतहट, बारा र पर्साका सीमाक्षेत्रमा देखिएका सुरक्षा चुनौती, आपसी समन्वय र सीमा व्यवस्थापन सुदृढीकरणका विषयमा केन्द्रित अन्तरक्रिया तथा निरीक्षण–निर्देशन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सीमाबासी नागरिक, स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारीहरू, सञ्चारकर्मी र सशस्त्र प्रहरी बल (एपीएफ) का सुरक्षाकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरूको टोलीले चारै जिल्लाका सीमाक्षेत्रको सुरक्षा अवस्था प्रत्यक्ष रूपमा अवलोकन गर्दै सम्बन्धित सुरक्षाकर्मीहरूलाई आवश्यक निर्देशनसमेत दिएको हो। निरीक्षणका क्रममा टोलीले विभिन्न नाकाहरू, चौकिहरू र सीमावर्ती बस्तीहरूमा पुगेर स्थलगत जानकारी लिएको थियो।

कार्यक्रमका क्रममा सहभागी जनप्रतिनिधि तथा सीमाबासीहरूले अवैध ओसारपसार, अवैध आवागमन, सीमा पार अपराध र तस्करी नियन्त्रणमा अझ कडाइ गर्न माग गरेका थिए। उनीहरूले सीमाक्षेत्रमा प्रहरी र स्थानीय प्रशासनबीचको समन्वय अझ प्रभावकारी हुनुपर्नेमा जोड दिए।

त्यसैगरी प्रमुख जिल्ला अधिकारीहरूले सीमाक्षेत्रमा सुरक्षासँगै सामाजिक सद्भाव र आपसी विश्वास कायम गर्न स्थानीय तह, सुरक्षाकर्मी र समुदायबीच नियमित संवाद आवश्यक रहेको बताएका थिए।

सशस्त्र प्रहरीका वरिष्ठ अधिकारीहरूले भने सीमा सुरक्षामा कुनै सम्झौता नगर्ने बताउँदै स्थानीयको सहकार्यकै माध्यमबाट शान्ति, सुरक्षाको वातावरण बलियो बनाइने प्रतिवद्धता जनाए।

कार्यक्रममा सञ्चारकर्मीहरूले पनि सीमाक्षेत्रका समस्या, नागरिकका आवाज र सुरक्षासम्बन्धी चुनौतीहरूबारे खुलेर प्रस्तुत गर्दै सुरक्षा संयन्त्र र नागरिकबीचको जानकारी आदान–प्रदान सुदृढ गर्न मिडियाको भूमिकाबारे जोड दिएका थिए।

अन्तरक्रिया अन्त्यमा टोलीले सीमाक्षेत्रमा खटिएका एपीएफ सुरक्षाकर्मीहरूलाई मनोबल उच्च राख्न, सीमा सुरक्षामा सतर्कता र संयम अपनाउन निर्देशन दिएको थियो।

Leave A Reply

Your email address will not be published.