नेपाल प्रिमियर लिग : सुदूरपश्चिम रोयल्स् र काठमाडौं गोर्खाजबिच हुँदै
काठमाडौं . नेपाल प्रिमियर लिगको आजको खेलमा पहिलो संस्करणको उपविजेता टिम सुदूरपश्चिम रोयल्स् र दोस्रो संस्करणमा विजयी सुरुवात गरेको काठमाडौं गोर्खाजबिच हुँदै छ। त्रिवि क्रिकेट स्टेडियममा दिउँसो ४ बजे सुरु हुने खेलमा काठमाडौं पहिलो खेलको जित निकाल्न चाहन् भने सुदूरपश्चिम सुखद् सुरुवात चाहन्छ।
दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स पहिलो संस्करणमा टेबलको शिर्षमा रहेर फाइनल खेलेको थियो। काठमाडौंमा विदेशी प्रशिक्षकको रुपमा नेपाली राष्ट्रिय टिमको पूर्वप्रशिक्षक मोन्टी देशाइ रहेका छन्। सुदूरपश्चिम रोयल्सको प्रशिक्षकमा नेपाली प्रशिक्षक छन्। नेपाली राष्ट्रिय टिम तथा उमेर समूहमा सफल प्रशिक्षकको छवि बनाएका जगत टमटाले सुदूरको प्रशिक्षण सम्हालेका छन्।
पहिलो संस्करणमा आएका विदेशी प्रशिक्षकहरूलाई चुनौती दिँदै फाइनलसम्मको यात्रा तय गरेका प्रशिक्षक हुन् जगत टमटा। यसपटक पनि घरेलु प्रशिक्षकले नै सुदूरलाई निर्देशन दिनेछन्।
उपाधि जित्नबाट पछि परेको सुदूरपश्चिम रोयल्स यसपटक त्यो लाइन क्रस गर्न चाहन्छ। पहिलो संस्करणबाट मार्की खेलाडी तथा कप्तान ऐरीसँगै विनोद भण्डारी आरिफ शेख अविनाश बोहरा इशान पाण्डे र नरेन साउदलाई सुदूरपश्चिम रोयल्सले रिटेन गरेको थियो। दोस्रो संस्करणको मिनी अक्सनबाट सुदूरपश्चिम रोयल्सले हेमन्त धामी, दिपक बोहरा,मिलन बोहरा, दिपेन्द्र थापा र टेकबहादुर रावतलाई अनुबन्ध गरेको थियो।
सुदूरपश्चिम रोयल्सका लागि विदेशी खेलाडीमा केही पुराना नामहरू फर्किएका छन् भने केही नयाँ नामहरू जोडिएका छन्। सुदूरपश्चिम रोयल्सका लागि हरमित सिंह र स्कर्ट केग्गुलिन दोहोरिएका नाम हुन् भने केही नयाँ नामहरू पनि भित्रिएका छन्।
स्वदेशी खेलाडी र विदेशी खेलाडीलाई मिलाएर जगत टमटाले पहिरो खेलमा जित सहित दोस्रो संस्करणको सुरुवात गर्न चाहन्छन्। पहिलो संस्करणमा लगि चरणको ७ मध्ये ६ खेल जित्दै सुदूरपश्चिम रोयल्सले अंकतालिकामा राज गर्दै फाइनल खेलेको थियो। तर फाइनल खेलमा जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपाधि जित्नबाट चुकेको थियो।
काठमाडौं गोर्खाजले आफ्नो पहिलो जितपछि त्यो मोमेन्टम निरन्तर कायम राख्न चाहन्छ। करण केसीको नेतृत्वमा रहेको गोर्खाजले पहिलो खेलमा साबिक विजेता जनकपुर बोल्ड्सलाई पाँच विकेटले पराजित गर्दै दोस्रो संस्करणको सुरुवात गरिसकेको छ।