३८औँ विश्व एड्स दिवस : एएचएफ नेपालको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
वीरगञ्ज। ३८औँ विश्व एड्स दिवसको अवसरमा एड्स हेल्थकेयर फाउण्डेशन (एएचएफ) नेपालले परवानीपुरस्थित श्री भोजभगत माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ। एचआईभी परीक्षण, उपचार तथा सचेतनामूलक अभियानमा सक्रिय एएचएफ नेपालले विद्यार्थीसम्म सही जानकारी पु-याउने उद्देश्यले विद्यालयस्तरमै कार्यक्रम आयोजना गरेको हो।
प्रतियोगितामा कक्षा ९ की दिव्या कुमारी पाठक प्रथम भइन्। दोस्रो स्थान कक्षा १० की चाँदनी कुमारी रामले हात पारिन् भने कक्षा १२ का सत्येन्द्र कुमार राम तेस्रो भएका एएचएफ नेपालका मयङ्क गुप्ताले जानकारी दिए।
विजेताहरूलाई विद्यालयका प्रधानाध्यापक बलिराम प्रसाद सर्राफ, शिक्षक जयराम प्रसाद सर्राफ, जमील अन्सारी, विद्यार्थी जागरण मञ्चकी लक्ष्मी रानी साहलगायतले पुरस्कार प्रदान गरेका थिए।
प्रतियोगितामा नारायणी अस्पतालका वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ तथा एआरटी फोकल पर्सन डा. अतुलेश कुमार चौरसिया, परवानीपुर गाउँपालिकाका शिक्षा शाखा संयोजक रबिन्द्र कुमार मिश्र, तथा एआरटी सेन्टरकी इन्चार्ज ज्योती गुप्ता निर्णायकका रूपमा सहभागी थिए। कक्षा ८ देखि १२ सम्मका ११ जना विद्यार्थीले प्रतिस्पर्धा गरेको एएचएफ नेपालका राघवेन्द्र पालले बताए।
प्रधानाध्यापक बलिराम प्रसाद सर्राफका अनुसार प्रारम्भिक उमेरमै एचआईभी/एड्सबारे वैज्ञानिक जानकारी दिन सकिनु नै गलत धारणा, डर र लज्जा हटाउने प्रभावकारी उपाय हो। “तथ्यमा आधारित ज्ञानले मात्र युवामा सचेतता र जिम्मेवारीको भावना विकास हुन्छ,” उनले भने।
एएचएफ नेपालकी काउन्सिलर रोशनी सर्राफले विद्यालयस्तरमा विद्यार्थीलाई एचआईभी/एड्सबारे सचेत बनाउने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको बताइन्। “विद्यार्थीले यस विषयमा खुलेर बोल्न र बुझ्न सकून् भन्ने उद्देश्यले हामी यस्ता कार्यक्रम गर्दै आएका छौं,” उनले भनिन्।