सशस्त्र प्रहरीद्वारा पर्सामा पाँच महिनामै करिब १४ करोडको अवैध सामान बरामद, राजश्व संकलनमा उल्लेखनीय वृद्धि
मंसिर २८ वीरगञ्ज आनन्द पटेल :
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्सा, वीरगञ्जले चालु आर्थिक वर्ष २०८२/०८३ को पाँच महिनाको अवधिमा करिब रु. १३ करोड ६२ लाख ७२ हजार ६९५ बराबरको अवैध चोरी–तस्करीका सामान बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।
गणका अनुसार विगत आर्थिक वर्ष २०८०/०८१ मा १२ महिनाको अवधिमा करिब रु. १४ करोड ९९ लाख ५ हजार ५२८ बराबरको अवैध सामान बरामद गरिएको थियो भने आर्थिक वर्ष २०८१/०८२ मा उक्त रकम बढेर रु. २८ करोड ९२ लाख ५० हजार १९९ पुगेको थियो। चालु आर्थिक वर्षको पाँच महिनामै करिब १४ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद भइसकेकाले बाँकी महिनामा यो रकम अझै बढ्ने अनुमान गरिएको छ।
यसैगरी चालु आर्थिक वर्षको पाँच महिनामा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले रु. ८ करोड ५९ लाख ७२ हजार ७५० बराबरको अवैध सामान अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ। यसअघि आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ मा क्रमशः रु. १९ करोड २६ लाख १४ हजार ९८४ र रु. ११ करोड ९९ लाख ४७ हजार १७८ बराबरको अवैध सामान अनुसन्धानका लागि बुझाइएको थियो।
पर्सा जिल्लाको नेपाल–भारत सीमा क्षेत्र करिब १०७ किलोमिटर क्षेत्रमा सशस्त्र प्रहरी बलले अहोरात्र कडा निगरानी राख्दै चोरी–तस्करी नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गरिरहेको छ। यसकै परिणामस्वरूप वीरगञ्ज भन्सार कार्यालयको राजश्व संकलनमा उल्लेखनीय वृद्धि भएको तथ्यांकले देखाएको छ।
विगत आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ मा वीरगञ्ज भन्सार कार्यालयले क्रमशः रु. १ खर्ब ४२ अर्ब ९८ करोड ५ लाख ५९ हजार ७२८ र रु. १ खर्ब ७५ अर्ब ७० करोड ६५ लाख ५४ हजार ११० राजश्व संकलन गरेको थियो। जुन प्रतिशतका आधारमा ६३ प्रतिशतबाट बढेर ८० प्रतिशत पुगेको छ। चालु आर्थिक वर्षको चार महिनामै रु. ७५ अर्ब ६४ करोड ४ लाख ७ हजार २३५ राजश्व संकलन भइसकेको छ, जुन अघिल्लो वर्षको तुलनामा अझ बढ्ने संकेत देखिएको छ।
जेन–जी आन्दोलन, बेमौसमी वर्षा, प्राकृतिक विपद् तथा छिमेकी मुलुक भारतको बिहार राज्यमा सम्पन्न विधान सभा चुनाव जस्ता चुनौतीका बाबजुद पनि चोरी–तस्करी नियन्त्रण र राजश्व संकलनमा उल्लेखनीय सफलता हासिल हुनु सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले राजश्व चुहावट नियन्त्रणलाई अभियानकै रूपमा अघि बढाएको परिणाम भएको स्थानीयवासीहरूको भनाइ छ।
अवैध चोरी–तस्करी नियन्त्रणसँगै आन्तरिक शान्ति सुरक्षामा समेत गणले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। कटुवा पेस्तोलसहित दुई जनालाई नियन्त्रणमा लिनुका साथै ३५० केजी गाँजा, ३०.९८ केजी चरेश तथा ठूलो परिमाणमा मनोदिपक लागूऔषध बरामद गरी सम्बन्धित निकायमा बुझाइएको छ। यसले पर्सा जिल्लाको आन्तरिक सुरक्षा सुदृढीकरणमा सशस्त्र प्रहरी बलको प्रभावकारी भूमिका प्रस्ट पारेको छ।