सशस्त्र प्रहरीले वीरगञ्जका विभिन्न नाकाबाट करिब १६ लाख बराबरको अवैध सामान बरामद
वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साबाट खटिएका विभिन्न टोलीले पर्सा जिल्लाका सीमावर्ती क्षेत्रहरूबाट ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नं. १३ गण अन्तर्गत खलवा नाका, वीरगञ्ज महानगरपालिका–२५ क्षेत्रबाट भारतबाट भन्सार छली विभिन्न सवारी साधन तथा साइकलमा लोड गरी नेपालतर्फ ल्याइँदै गरेको अवैध सामान बरामद गरिएको हो। बरामद गरिएको सामानमा कपडा, किराना, कफीदाना तथा कस्मेटिक सामग्री रहेका छन्।
खलवा नाका क्षेत्रबाट विभिन्न सवारी साधनमा ल्याइँदै गरेको करिब रु. ७ लाख ५६ हजार ४९० बराबरको कपडा तथा कस्मेटिक सामान बरामद गरिएको छ। त्यस्तै, सोही नाकाबाट साइकलमार्फत ल्याइँदै गरेको रु. ७ लाख ४९ हजार ८०० बराबरको कपडा, किराना, कफीदाना तथा कस्मेटिक सामग्री पनि नियन्त्रणमा लिइएको छ।
यसैगरी, सीमा सुरक्षा गुल्म हेडक्वार्टर अलौबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१७ कोनिया क्षेत्रबाट भारतबाट भन्सार छली साइकलमा नेपालतर्फ ल्याइँदै गरेको रु. १ लाख २ हजार ५७० बराबरको किराना तथा एयरबट बरामद गरेको छ।
बरामद गरिएका सम्पूर्ण सामानहरू आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी विश्वराज योञ्जनले उक्त जानकारी दिएका हुन्।