लायन्स क्लब अफ वीरगन्ज ग्रीन क्याम्पसद्वारा वीरगन्ज कपडा बैंकलाई कपडा सहयोग

27

९ पुस, वीरगन्ज ।

लायन्स क्लब अफ वीरगन्ज ग्रीन क्याम्पसले वीरगन्ज कपडा बैंकलाई कपडा सहयोग गरेको छ। लायन्स क्लबका डिस्ट्रिक्ट गभर्नर विनय बस्नेतले वीरगन्ज कपडा बैंकको कार्यालयमै पुगेर दुई बोरा कपडा बैंकका अध्यक्ष लालबाबु सिंहलाई हस्तान्तरण गर्नुभएको हो।

सो अवसरमा विशिष्ट अतिथि प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर (1st VDG) रामबिहारी पाण्डेले कपडा बैंकका अध्यक्ष सिंहको निस्वार्थ सामाजिक सेवाभावको कदर गर्दै लायन्स ब्याज प्रदान गर्नुभयो।

कार्यक्रममा सामुदायिक आँखा अस्पतालका सञ्चालक तथा नेत्ररोग विशेषज्ञ डा. महेश सिंह धामी, लायन्स क्लबका पूर्व डिस्ट्रिक्ट गभर्नर अमरबहादुर श्रेष्ठ, डिस्ट्रिक्ट सचिव सर्जन चापागाईं, कोषाध्यक्ष चन्दबहादुर श्रेष्ठ, डिस्ट्रिक्ट एक्जिक्युटिभ चिफ बासु तिमिल्सिना, रिकेश साह, उमेश साह कानु, उमेश शर्मा, श्याम गुप्ता, एरिया चिफ रामेश्वर प्रसाद गुप्ता, रिजन चेयरपर्सन सन्दीप गुप्ता, जोन चेयरपर्सन डा. लक्ष्मी थापा, रितिका जैसवाल, परिवार अध्यक्ष नरोत्तम पाण्डे लगायत लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।

सो अवसरमा डिस्ट्रिक्ट गभर्नर बस्नेतले लायन्स क्लब, तिलगंगा आँखा अस्पताल र वीरगन्ज सामुदायिक आँखा अस्पतालको संयुक्त सहयोगमा बारा र पर्सा जिल्लामा सञ्चालन भइरहेको आँखा शिविरमार्फत पाँच हजार मोतियाबिन्दु शल्यक्रिया गर्ने लक्ष्यअनुसार हालसम्म तीन हजारभन्दा बढी सफल शल्यक्रिया सम्पन्न भइसकेको जानकारी दिनुभयो। साथै, वीरगन्ज कपडा बैंकले विगत केही वर्षदेखि गरिब, असहाय, आगलागी तथा बाढीपीडितहरूका घरदैलोमै पुगेर गर्दै आएको निस्वार्थ सेवाभावको प्रशंसा गर्दै आगामी दिनमा पनि लायन्स क्लबको साथ र सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विशिष्ट अतिथि रामबिहारी पाण्डेले ‘तपाईं संग धेरै छ भने हामीलाई दिएर जानुस्, तपाईं संग छैन वा आवश्यकता छ भने हामी संग निःशुल्क लिएर जानुस्’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै ‘कोही नाङ्गो नरहोस्’ भन्ने उद्देश्यका साथ कपडा बैंकले गर्दै आएको सेवाको प्रशंसा गर्नुभयो। साथै, लायन्स क्लबले देश–विदेशमा आपत्–विपत् तथा हाल पर्सा–बारा जिल्लामा दलित, असहाय र विपन्न नागरिकको आँखाको शल्यक्रिया गर्दै आएको बताउनुभयो।

कपडा बैंकका अध्यक्ष लालबाबु सिंहले लायन्स क्लबले विभिन्न समयमा सञ्चालन गर्दै आएको सेवामूलक कार्य तथा हाल पर्सा र बारा जिल्लामा भइरहेको आँखा शिविरमार्फत विपन्न नागरिकको जीवन उज्यालो बनाउने कार्यको प्रशंसा गर्दै कपडा सहयोगप्रति लायन्स परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।

Leave A Reply

Your email address will not be published.