जगरनाथपुर गाउँपालिकाद्वारा निशुल्क लोक सेवा तयारी कक्षा सुरु

59

पर्सा । पर्सा जिल्लास्थित जगरनाथपुर गाउँपालिकाले आफ्नो पालिकाभित्रका विद्यार्थी तथा युवा–युवतीलाई लक्षित गर्दै निशुल्क लोक सेवा तयारी कक्षा सञ्चालनमा ल्याएको छ। यस कार्यक्रमबाट ठूलो संख्यामा विद्यार्थी लाभान्वित हुने विश्वास गाउँपालिकाले लिएको छ।

स्थानीय तहबाटै शैक्षिक तथा बौद्धिक विकासमा टेवा पुर्‍याउने उद्देश्यसहित सुरु गरिएको उक्त कक्षाले लोक सेवा आयोगद्वारा लिइने विभिन्न परीक्षाको तयारी गर्न सहज बनाउने अपेक्षा गरिएको छ। गाउँपालिकाले युवाहरूलाई प्रतिस्पर्धी बनाउँदै सरकारी सेवाप्रति आकर्षित गर्न यो पहल गरेको जनाएको छ।
गाउँपालिका प्रमुख श्रीकान्त प्रसाद यादवले स्थानीय सरकार नागरिकको नजिक छ र जनताको आवश्यकताअनुसार काम गरिरहेको अनुभूति गराउने लक्ष्यका साथ लोक सेवा तयारी कक्षा सञ्चालन गरिएको बताए। उनले युवालाई सक्षम, आत्मनिर्भर र जिम्मेवार बनाउँदै पालिकालाई समृद्धितर्फ लैजानु आफ्नो प्राथमिकता रहेको उल्लेख गरे।

प्रमुख यादवका अनुसार यस किसिमका कार्यक्रमले युवामा सकारात्मक सोचको विकास गर्नुका साथै भविष्यमा सरकारी सेवामा प्रवेश गरी देश र समाजको सेवा गर्ने प्रेरणा मिल्नेछ। “युवाहरू सक्षम भए मात्र पालिका र देश समृद्ध बन्छ,” उनले भने।

निशुल्क रूपमा सञ्चालन गरिएको लोक सेवा तयारी कक्षामा अनुभवी शिक्षक तथा प्रशिक्षकमार्फत पाठ्यक्रमअनुसार अध्यापन गराइने जनाइएको छ। साथै आगामी दिनमा यस्ता शैक्षिक, सीपमूलक तथा क्षमता अभिवृद्धि कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ।स्थानीय युवाहरूले गाउँपालिकाको यस पहलको स्वागत गर्दै यसले आफ्नो भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास रहेको जगरनाथपुर गाउँपालिका प्रमुख यादवले बताएका छन् । युवा युवतीहरुलाई यस तालिमले उच्च शिक्षा संगै रोजगारीको अवसर खुल्ने र जनशक्ति उत्पादनमा महत्त्वपूर्ण योगदान गर्ने भएकोले हाम्रो लक्ष्य भनेको पालिका भित्र कोही पनि बेरोजगार नहोस् भन्ने चाहना राखेर विभिन्न सीप मुलक तालिमहरु दिने र स्वरोजगार आफैं बनुन् भन्ने अभियान जगरनाथपुर पालिकाको योजना रहेको प्रमुख यादवले बताएका हुन ।अहिले पालिकाले हरेक वडामा यस्ता कार्यक्रमहरु संचालन गर्ने योजना रहेको र गरि पनि रहेको उनले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.