वीरगञ्ज महानगरपालिकाको १९औँ नगर अधिवेशन सम्पन्न, वडाको २५ प्रतिशत बजेट पुनः थप्ने प्रस्ताव पारित
वीरगञ्ज, पुस १४ ।
वीरगञ्ज महानगरपालिकाको १९औँ नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले यसअघि गएको असोजमा सम्पन्न विशेष अधिवेशनमार्फत कटौती गरिएको वडागत बजेटको २५ प्रतिशत रकम पुनः थप गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।
गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका कारण महानगरका विभिन्न संरचनामा क्षति पुगेपछि असोजमा विशेष नगर अधिवेशन आयोजना गरिएको थियो। सो अधिवेशनले पुनर्निर्माणलाई प्राथमिकतामा राख्दै चालु आर्थिक वर्षका लागि वडागत बजेटमा कटौती गर्ने निर्णय गरेको थियो।
तर पुनर्निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापन भइसकेकाले १७औँ नगर अधिवेशनबाट छुट्याइएको वडातर्फको बजेटलाई यथावत् राख्ने निर्णय हालको अधिवेशनबाट पारित गरिएको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो।
अधिवेशनमा प्रमुख सिंहले चालु आर्थिक वर्षको हालसम्मको आय–व्यय विवरणसमेत सार्वजनिक गर्नुभयो। उहाँका अनुसार कुल विनियोजित तीन अर्ब २२ करोड रुपैयाँमध्ये हालसम्म एक अर्ब १३ करोड रुपैयाँ खर्च भइसकेको छ, जुन कुल बजेटको ३३ प्रतिशत हो। खर्चको विवरणअनुसार चालु खर्चतर्फ ३४.७८ प्रतिशत र पूँजीगत खर्चतर्फ ३२.६४ प्रतिशत खर्च भएको छ।
महानगरपालिकाले चालु आर्थिक वर्षभित्र शुलभ औषधि पसल सञ्चालन, प्रयोगशाला विस्तार तथा नगर अस्पताल सञ्चालनमा ल्याउने लक्ष्यसमेत लिएको प्रमुख सिंहले बताउनुभयो।
नगर अधिवेशनमा उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, ३२ वटै वडाका वडाध्यक्ष, वडा सदस्यलगायतको उल्लेखनीय सहभागिता रहेको थियो।