प्रदेश स्तरीय वार्षिक समिक्षामा परवानीपुर गाउँपालिका जिल्लामै प्रथम
पौस १६ बारा आनन्द पटेल।
आर्थिक वर्ष २०८१/०८२ को प्रदेश स्तरीय वार्षिक समिक्षामा बारा जिल्लाको परवानीपुर गाउँपालिकाले प्रथम स्थान हासिल गर्दै जिल्लाकै नाम उजागर गर्न सफल भएको छ। साथै, मधेश प्रदेशका १३६ वटा स्थानीय तहहरूमध्ये २४औँ स्थान प्राप्त गर्नु परवानीपुर गाउँपालिकाका लागि थप गौरवको विषय बनेको छ।
यो उल्लेखनीय उपलब्धि स्वास्थ्य शाखा प्रमुख जय कृष्ण मिश्रको सक्षम नेतृत्व, दूरदृष्टि र व्यवस्थापन क्षमता तथा गाउँपालिकामा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरूको अथक मेहनत, समर्पण र सेवाभावको प्रतिफल भएको गाउँपालिकाले जनाएको छ।
स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले मातृ तथा शिशु स्वास्थ्य, खोप कार्यक्रम, पोषण, सरुवा रोग नियन्त्रण, स्वास्थ्य सूचनाको नियमित अभिलेख, समयमै प्रतिवेदन पेस तथा सेवाग्राहीमैत्री वातावरण निर्माणमा परवानीपुर गाउँपालिकाले उल्लेखनीय सुधार गरेको थियो। यही कारण प्रदेश स्तरीय मूल्यांकनमा गाउँपालिका उत्कृष्ट बन्न सफल भएको हो।
यस सफलताले परवानीपुर गाउँपालिकाको स्वास्थ्य प्रणालीलाई थप सबल बनाउनुका साथै अन्य स्थानीय तहका लागि पनि उदाहरणीय नमुना प्रस्तुत गरेको छ। स्थानीय तह, सरोकारवाला निकाय तथा सर्वसाधारणले यस उपलब्धिलाई गाउँपालिकाको सामूहिक सफलताको रूपमा लिँदै स्वास्थ्य शाखा प्रमुख जय कृष्ण मिश्रसहित सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई हार्दिक बधाई तथा आगामी दिनमा अझ प्रभावकारी सेवाको अपेक्षा व्यक्त गरेका छन्।
प्रदेश स्तरीय समिक्षामा प्राप्त यो उपलब्धिले परवानीपुर गाउँपालिकालाई आगामी वर्षहरूमा स्वास्थ्य सेवा क्षेत्रमा अझ सशक्त र नमूना स्थानीय तहका रूपमा स्थापित गर्ने विश्वास लिइएको छ।