बहुअरी सुपर लिग क्रिकेटको तेस्रो संस्करण सुरु, बहुअरी टाइगरको सानदार जीत

95

 

पौष १९, बारा (आनन्द पटेल)।

बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ५ बहुअरी टोलमा शनिबारदेखि बहुअरी सुपर लिग क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा बहुअरी टाइगर क्लबले राइजिङ स्टार क्रिकेट टिमलाई ६१ रनले पराजित गर्दै सानदार सुरुवात गरेको छ।

उद्घाटन खेलमा राइजिङ स्टार क्रिकेट टिमले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङ गरेको बहुअरी टाइगर क्लबले निर्धारित १६ ओभरमा ९ विकेट गुमाउँदै १ सय १३ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो।

जवाफमा ब्याटिङ गर्न आएको राइजिङ स्टार क्रिकेट टिमले सुरुवात राम्रो गर्न सकेन र ५२ रनमै सबै विकेट गुमाउँदै हार बेहोर्न बाध्य भयो। यससँगै बहुअरी टाइगर क्लबले ६१ रनको फराकिलो जित निकाल्दै प्रतियोगितामा प्रभावशाली उपस्थिति जनाएको छ।

खेलमा बहुअरी टाइगर क्लबका चन्दन पटेल ‘म्यान अफ द म्याच’ घोषित भए। उनले २५ रनको योगदान दिनुका साथै ३ विकेट लिँदै टोलीको जितमा महत्वपूर्ण भूमिका खेले।

प्रतियोगिताको उद्घाटन परवानीपुर गाउँपालिकाका प्रमुख रामक्षेत्री प्रसाद कुर्मीले गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख कुर्मीले खेलकुदले युवाको भविष्य उज्यालो बनाउने उल्लेख गर्दै खेलाडीहरूको उज्ज्वल भविष्यको कामना गरे। साथै गाउँपालिकाबाट यस्ता खेलकुद गतिविधिमा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता जनाए।

कार्यक्रमका विशिष्ट अतिथि वडा नम्बर ५ बहुअरी टोलका वडाध्यक्ष रामेश्वर साह कलवारले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरे। साथै नेपाली कम्युनिस्ट पार्टीका नेता अजय पटेल, लालबहादुर पटेल, युवा नेता योगेन्द्र गुप्ता, मोहन पटेललगायतले शुभकामना मन्तव्य राखेका थिए। वडा नम्बर ५ का वडा सदस्य दारा सिंह पटेलले पनि खेलाडीहरूलाई प्रोत्साहनसहित शुभकामना मन्तव्य राखे।

कार्यक्रम युवा विकास क्लबका अध्यक्ष दीपक पटेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

Leave A Reply

Your email address will not be published.