पुरानो रेल ल्याई वीरगञ्जमा रेल्वे संग्रहालय स्थापना गर्ने विषयमा स्थलगत निरीक्षण

70

माघ, वीरगञ्ज | आनन्द पटेल

वीरगञ्जस्थित बीपी उत्थान अगाडि रहेको रेल्वे जग्गामा जनकपुरबाट ऐतिहासिक पुरानो रेल ल्याई रेल्वे संग्रहालय स्थापना गर्ने विषयमा आज स्थलगत निरीक्षण गरिएको छ। ऐतिहासिक रेल सम्पदाको संरक्षण र पर्यटकीय विकासलाई लक्षित गर्दै अघि बढाइएको योजनाबारे सरोकारवालाबीच छलफल गरिएको हो।

निरीक्षण कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंह, महानगरपालिकाका हरियाली संयोजक तथा सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष प्रकाश खेतान, सरसफाइ अभियन्ता शिव गुप्ता लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

स्थलगत निरीक्षणका क्रममा प्रस्तावित स्थलको वर्तमान अवस्था, पूर्वाधारको सम्भावना तथा संग्रहालय स्थापना गर्न आवश्यक प्रक्रिया र समन्वयका विषयमा विस्तृत छलफल गरिएको जनाइएको छ। सहभागीहरूले जनकपुरबाट ऐतिहासिक महत्व बोकेको रेल शीघ्र ल्याई संग्रहालय निर्माण प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए।

नगर प्रमुख सिंहले रेल्वे संग्रहालय स्थापना भएमा वीरगञ्जको ऐतिहासिक पहिचान थप सुदृढ हुने, पर्यटन प्रवर्द्धन हुने र नयाँ पुस्ताले रेल्वे इतिहासबारे जानकारी लिन सक्ने अवसर प्राप्त हुने बताउनुभयो। साथै, यो योजना महानगरको दीर्घकालीन सांस्कृतिक तथा पर्यटकीय विकास रणनीतिसँग पनि मेल खाने उहाँको भनाइ थियो।

निरीक्षण टोलीले आवश्यक प्रक्रिया पूरा गर्दै छिटोभन्दा छिटो रेल ल्याई संग्रहालय स्थापना गर्ने कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। प्रस्तावित रेल्वे संग्रहालय वीरगञ्जको नयाँ पर्यटकीय आकर्षणका रूपमा विकास हुने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.