विश्रामपुर गा.पा.मा जसपा नेपालको अगुवा कार्यकर्ता बैठक सम्पन्न, सञ्जु साहलाई भारी बहुमतले विजयी गराउने संकल्प
माघ १४, बारा (आनन्द पटेल) । जनता समाजवादी पार्टी (जसपा) नेपालद्वारा बारा जिल्लाको विश्रामपुर गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता बैठक सम्पन्न भएको छ। बैठकमा आगामी प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवार सञ्जु साहलाई भारी बहुमतले विजयी गराउन संगठनलाई सक्रिय र एकताबद्ध भएर लाग्न निर्देशन दिइएको छ।
बैठकमा जसपा नेपालका वरिष्ठ नेता तथा पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले यो निर्वाचन मधेसी, जनजाति, मुस्लिम र पिछडा वर्गको अधिकार र अस्तित्वको लडाइँ भएको उल्लेख गरे। उनले बाहिरबाट आएका केही ठग र स्वार्थी नेताहरूले क्षेत्र कब्जा गर्ने रणनीति बनाएको आरोप लगाउँदै त्यस्तो प्रयासलाई कुनै पनि हालतमा असफल पार्नुपर्ने बताए। सही, स्वच्छ र जनताको पक्षमा काम गर्ने उम्मेदवार सञ्जु साहलाई विजयी गराउन उनले सबै नेता–कार्यकर्तालाई आह्वान गरे।
कार्यक्रममा पार्टीका वरिष्ठ नेता तथा अधिवक्ता रामचन्द्र सिंहले जसपा नेपालले युवा उम्मेदवारलाई टिकट दिएर जेन्जी पुस्तालाई राजनीतिमा अघि बढाएको उल्लेख गर्दै मधेसको धरती पुत्र सञ्जु साहलाई जिताएर नयाँ राजनीतिक संस्कार स्थापित गर्नुपर्ने बताए।
बैठकलाई सम्बोधन गर्दै प्रतिनिधिसभा उम्मेदवार सञ्जु साहले आफू शिक्षा, रोजगारी, कृषि, युवा, खेलकुद र पर्यटनलगायत क्षेत्रलाई प्राथमिकतामा राखी क्रमबद्ध रूपमा विकास गर्ने संकल्प व्यक्त गरे। उनले एकपटक अवसर दिएर काम गर्ने मौका दिन आम मतदातासँग आग्रह गर्दै विश्रामपुर र समग्र क्षेत्रलाई देशभर चिनाउने लक्ष्य रहेको बताए।
कार्यक्रममा पार्टीका वरिष्ठ नेता सीताराम गुप्ता, विश्रामपुर गाउँपालिका अध्यक्ष जुबेर अन्सारी, युवा नेताहरू, महिला नेतृहरू तथा ठूलो संख्यामा पार्टीका नेता–कार्यकर्ताहरूको सहभागिता रहेको थियो।