हिन्दू राष्ट्रको एजेन्डासहित सन्तोष पटेलको घरदैलो अभियान तीव्र

111

वीरगञ्ज । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत बीरगञ्ज महानगरपालिका वडा नम्बर–२४ का रामगढवा र बहुअरी क्षेत्रमा आज नेपाल जनता पार्टीले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।

“हर हर कमल, घर घर कमल” नारासहित सञ्चालन गरिएको घरदैलो कार्यक्रममा युवा, महिला तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूलाई उच्च सम्मान गर्दै नेपाल जनता पार्टीले आफ्ना राजनीतिक एजेन्डा र भावी योजना आम नागरिकसमक्ष प्रस्तुत गरेको थियो।

घरदैलो अभियानका क्रममा नेपाल जनता पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार सन्तोष पटेल ले सनातन हिन्दू राष्ट्र नेपाल, रामराज्य स्थापना, भ्रष्टाचारमुक्त समाज, शिक्षा र स्वास्थ्यमा सुधार, सुशासन, विकास, सुरक्षा तथा रोजगारी सिर्जनाका विषयलाई प्राथमिकतामा राख्दै क्षेत्रको समग्र समृद्धिका लागि आफू प्रतिबद्ध रहेको बताएका थिए।

उम्मेदवार पटेलले निरन्तर रूपमा हिन्दू राष्ट्रको मुद्दा आम जनतामाझ उठाउँदै आएको उल्लेख गर्दै यस अभियानमार्फत स्थानीयवासीसँग प्रत्यक्ष संवाद र समर्थन जुटाउने प्रयास गरिएको बताए। स्थानीय नागरिकहरूले पनि परम्परा, संस्कृति र सुशासनको पक्षमा उठाइएको एजेन्डाप्रति चासो र समर्थन व्यक्त गरेको पार्टीले जनाएको छ।

आगामी निर्वाचन नजिकिँदै जाँदा बीरगञ्ज–२४ मा गरिएको यस घरदैलो कार्यक्रमले नेपाल जनता पार्टीको सांगठनिक गतिविधि र जनसम्पर्कलाई थप बल पुगेको देखिएको छ।

Leave A Reply

Your email address will not be published.