प्याब्सन जुनियर फुटबल: ठोरी एकेडेमी–मुनलाइट मावि उपाधि भिडन्त
वीरगञ्ज — प्याब्सन जुनियर फुटबल प्रतियोगिताको फाइनल खेलमा ठोरी एकेडेमी र मुनलाइट माध्यमिक विद्यालय प्रवेश गरेका छन्।
पहिलो सेमिफाइनलमा मुनलाइट माध्यमिक विद्यालय र एसआर ग्यालेक्सीबीचको खेल निकै प्रतिस्पर्धात्मक रह्यो। खेलको दोस्रो हाफमा एसआर ग्यालेक्सीका खेलाडीले डिबक्सभित्र हातले बल छोएपछि मुनलाइटले पाएको पेनाल्टी नै खेलको पहिलो तथा अन्तिम गोल बन्यो। उक्त गोलसँगै मुनलाइट मावि फाइनलमा प्रवेश गर्न सफल भयो। यस खेलका उत्कृष्ट खेलाडी मुनलाइटका दिब्यांशु पण्डित घोषित भए।
त्यसैगरी दोस्रो सेमिफाइनलमा ठोरी एकेडेमी र बिकन माध्यमिक विद्यालयबीचको खेल निर्धारित समयसम्म गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टी सुटआउटमा ठोरी एकेडेमीले ३–२ गोलले बिकन माविलाई पराजित गर्दै फाइनलको यात्रा तय गर्यो। यस खेलका उत्कृष्ट खेलाडी ठोरी एकेडेमीका आशिष खड्का घोषित भए।
अब माघ १६ गते तेस्रो स्थानका लागि बिहान ११ बजे एसआर ग्यालेक्सी र बिकन माविबीच प्रतिस्पर्धा हुनेछ भने उपाधिका लागि दिउँसो १ बजे मुनलाइट मावि र ठोरी एकेडेमी आमनेसामने हुनेछन्।