१०औँ प्याब्सन नेपाल मेडिसिटी टी–२० क्रिकेटको उपाधि मुनलाईट माविलाई
वीरगन्ज, २४ माघ ।
१० औँ प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय टी–२० नकआउट क्रिकेट प्रतियोगिताको उपाधि मुनलाईट माध्यमिक विद्यालयले उचालेको छ। प्याब्सन पर्साको आयोजनामा माघ ८ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा सनलाईट माविलाई ३ विकेटले पराजित गर्दै मुनलाईटले उपाधि आफ्नो नाममा लेखाएको हो।
४० विद्यालयको सहभागिता रहेको प्रतियोगितामा गत संस्करणको समेत विजेता मुनलाईटले यसपटक पनि बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि रक्षा गर्न सफल भयो। फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सनलाईट मावि १८.५ ओभरमा अलआउट हुँदै जम्मा ६६ रनमा सीमित रह्यो। सामान्य लक्ष्य पछ्याएको मुनलाईटले १२.५ ओभरमा ७ विकेटको क्षतिमा ७० रन बनाउँदै सहज जित निकाल्यो। उपाधि जित्न महत्वपूर्ण २९ रन बनाएका दिलराज यादव खेलको म्यान अफ द म्याच घोषित भए।

यसअघि शनिबार बिहान तेस्रो स्थानका लागि भएको खेलमा सेन्ट जेभियर्स माविले गोल्डेन फ्युचर स्कुललाई ९ विकेटले पराजित गर्दै तेस्रो स्थान हासिल गर्यो। गोल्डेन फ्युचरले दिएको ४१ रनको लक्ष्य सेन्ट जेभियर्सले मात्र १ विकेट गुमाएर ६ ओभरमै पूरा गर्यो। उक्त खेलका म्यान अफ द म्याच सेन्ट जेभियर्सका महमद आसिफ अली भए।
क्वार्टरफाइनलबाट बाहिरिएका टोलीहरूबीच भएको प्लेट प्रतियोगितामा गौतम मावि विजयी हुँदै प्लेट च्याम्पियन बनेको छ भने प्रतियोगिताको फेयर प्ले टिमको उपाधि एमइएस माविले प्राप्त गरेको प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले जानकारी दिए।
प्रतियोगितामा विजेता, उपविजेता र तेस्रो स्थान प्राप्त विद्यालयले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगदसहित शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गरेका छन्।
यस्तै, प्रतियोगिताको प्लेयर अफ द सिरिज मुनलाईटका दिलरञ्जन यादव, उत्कृष्ट बलर गोल्डेन फ्युचरका निरञ्जन यादव, उत्कृष्ट ब्याट्सम्यान मनकामना माविका अब्बुबक्कर समानी, उत्कृष्ट किपर मुनलाईटका अनुप कुँवर तथा उत्कृष्ट नव–उदीयमान खेलाडी साउथ जोनका प्रिन्स यादव घोषित भए। यस्तै उत्कृष्ट फिल्डर सनलाईटका रत्नेश यादव छुटेको हुँदा थपिदिनु हुन अनुरोध छ । उत्कृष्ट खेलाडीहरूले ट्रफी, प्रमाणपत्र, क्याप र नगद तीन हजार रुपैयाँ प्राप्त गरे।
प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षता तथा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहमा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोईराला, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, शिक्षा महाशाखा प्रमुख आनन्द लामिछाने, वडा नं. १३ का वडा अध्यक्ष हिरा गिरी, मुख्य प्रायोजक नेपाल मेडिसिटीका कार्यकारी निर्देशक विजय रिमाललगायत विभिन्न संघसंस्था तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।