जनताको समस्या बुझ्दै घरदैलोमा टेमानी : पर्सा–२ मा विकास बहसको सुरुवात

18

वीरगञ्ज (पर्सा), २६ माघ ।

पर्सा निर्वाचन क्षेत्र नं. २ मा यसपटकको प्रतिनिधिसभा निर्वाचन केवल दल र उम्मेदवारबीचको प्रतिस्पर्धामा सीमित नभई जनजीवनसँग गाँसिएका दीर्घकालीन समस्यामाथि बहसको केन्द्र बनेको छ। यही सन्दर्भमा जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधिसभा सदस्यका उम्मेदवार अशोक टेमानी जनताको घरदैलोमा पुगेर स्थानीय समस्या बुझ्दै समाधानका लागि नीतिगत प्रतिबद्धता व्यक्त गर्दै आएका छन्।

सोमबार बिहान वीरगञ्ज महानगरपालिका वडा नं. १७ स्थित कोनिया टोलमा टेमानीले घरदैलो अभियानअन्तर्गत मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका हुन्। अभियानमा मधेश प्रदेशका पूर्वमन्त्री तथा जसपाका नेता रमेश कुर्मी, सशिकपुर मियाँ, करिमा बेगमलगायत पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

घरदैलो क्रममा उम्मेदवार टेमानीले स्थानीयवासीसँग खानेपानी, ढल व्यवस्थापन, सरसफाइ, स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलगायतका विषयमा प्रत्यक्ष छलफल गर्दै समस्या र गुनासा संकलन गरेका थिए। पर्सा–२ अन्तर्गत वीरगञ्ज महानगरपालिकाका १३ वटा वडा, पर्सागढी नगरपालिकाका सबै वडा तथा बहुदरमाई नगरपालिकाका केही वडा पर्दछन्, जहाँ शहरी, अर्धशहरी र ग्रामीण बस्तीको मिश्रित अवस्था रहेको छ। तर विकासको गति भने समान नरहेको स्थानीयको गुनासो छ।

वीरगञ्जका शहरी क्षेत्रमा दीर्घकालीन खानेपानी समस्या, फोहोर व्यवस्थापन, ढल प्रणालीको अभाव र स्वास्थ्य जोखिम मुख्य चुनौतीका रूपमा देखिएका छन्। त्यस्तै पर्सागढी र बहुदरमाईजस्ता ग्रामीण तथा अर्धशहरी क्षेत्रमा आधुनिक सिँचाइ, कृषि प्रविधि, बजार पहुँच, स्वास्थ्य चौकीमा जनशक्ति तथा औषधिको अभाव र विद्यालयमा भौतिक पूर्वाधार तथा गुणस्तरीय शिक्षाको समस्या देखिएको छ।

उम्मेदवार टेमानीले जनतासँगको संवादमा ‘समस्या कागजमा होइन, जनताको जीवनमा देखिनुपर्छ’ भन्ने धारणा राख्दै निर्वाचित भएपछि खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई प्राथमिक एजेन्डा बनाउने बताएका छन्। संघीय संसदमा पुगेर मधेश र पर्साका वास्तविक समस्यालाई राष्ट्रिय नीतिसँग जोड्ने, बजेट तथा योजना वितरणमा न्याय सुनिश्चित गर्ने र स्थानीय तहसँग समन्वय गरी दीर्घकालीन समाधान खोज्ने उनको प्रतिबद्धता रहेको छ।

‘घरदैलो अभियान भोट माग्ने कार्यक्रम मात्र होइन, नीति निर्माणको आधार हो,’ टेमानीले भने, ‘जनताले भोगिरहेका समस्यालाई संसदमा पुर्‍याउनु नै मेरो मुख्य दायित्व हुनेछ।’

पर्सा–२ का मतदाताले यसपटकको निर्वाचनलाई परिवर्तनको अवसरका रूपमा हेरेका छन्। समस्या सुन्ने, बुझ्ने र समाधानका लागि स्पष्ट राजनीतिक इच्छाशक्ति देखाउने नेतृत्वको अपेक्षासहित अशोक टेमानी घर–घर पुगिरहेका छन्, जसले पर्सा–२ को चुनावी बहसलाई नयाँ दिशा दिएको छ।

Leave A Reply

Your email address will not be published.