पर्सागढी–४ मा रास्वपाको वडा स्तरीय बैठक, कृषक समस्यालाई प्राथमिकतामा राख्ने कानुको प्रतिबद्धता
पर्सा ।
पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नं. ४ थरुवा हर्दासपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा स्तरीय बैठक कार्यक्रम सम्पन्न भएको छ। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको उक्त बैठकमा रास्वपाका पर्सा क्षेत्र नं. २ का उम्मेदवार सुशील कुमार कानुको सहभागिता रहेको थियो।
बैठकमा पार्टी संगठनको वर्तमान अवस्था, क्षेत्रीय चुनौती तथा आगामी निर्वाचनका लागि अपनाउनुपर्ने रणनीतिबारे विस्तृत छलफल गरिएको थियो। विशेषगरी युवालाई केन्द्रमा राखेर चुनावी अभियानलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा गहन विचार–विमर्श गरिएको रास्वपाले जनाएको छ।
कार्यक्रमका क्रममा स्थानीय बासिन्दाले भोग्दै आएका कृषि, विकास र जनजीवनसँग सम्बन्धित विविध समस्याबारे ध्यानाकर्षण गराएका थिए। त्यसप्रति प्रतिक्रिया दिँदै उम्मेदवार कानुले निर्वाचित भएसँगै ती समस्याको समाधानलाई प्राथमिकतामा राखी पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
कानुले विशेषगरी यस क्षेत्रका कृषकहरूले जंगली जनावरका कारण लामो समयदेखि भोग्दै आएको कृषि क्षति गम्भीर समस्या भएको उल्लेख गर्दै त्यसको दीर्घकालीन समाधान छिटो खोजिने आश्वासन दिएका छन्।
वडा स्तरीय बैठकमार्फत स्थानीय तहका समस्या, जनचासो तथा विकासका सम्भावित उपायबारे साझा धारणा निर्माण गरिएको रास्वपाले जनाएको छ।