पर्सा–१ मा अनिल रुङटाको पक्षमा समर्थन लहर तीव्र, भिष्वामा सार्वजनिक समर्थन घोषणा
वीरगञ्ज ।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार अनिल रुङटाको पक्षमा समर्थन लहर तीव्र बन्दै गएको छ। बुधबार वीरगञ्ज महानगरपालिका–१५ भिष्वामा आयोजित भेटघाट कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले सार्वजनिक रूपमा रुङटालाई समर्थन जनाएका छन्।
मतदातासँगको प्रत्यक्ष संवादका क्रममा स्थानीय बासिन्दाहरूले रुङटाप्रति आशा व्यक्त गर्दै “हजुर नै हाम्रो अन्तिम आशा हुनुहुन्छ” भन्ने प्रतिक्रिया दिएका थिए। केही स्थानीयले अघिल्ला निर्वाचित प्रतिनिधिप्रति असन्तुष्टि व्यक्त गर्दै यसपटक परिवर्तन आवश्यक रहेको धारणा राखेका छन्। उनीहरूले विगतमा दुई पटक निर्वाचन जिताएर मन्त्री बनेका नेता प्रदीप यादवप्रति असन्तोष व्यक्त गर्दै जनभावनाअनुसार निर्णय गर्ने बताएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार रुङटाले स्थानीय विकास, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य सेवाको सुधारलाई आफ्नो प्राथमिक एजेन्डा भएको स्पष्ट पारे। उनले युवापुस्ताको बेरोजगारी, वैदेशिक रोजगारीको बाध्यता तथा सीपमूलक तालिमको अभाव समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।
रुङटाले समावेशी विकास, पारदर्शी नेतृत्व र परिणाममुखी कार्यशैलीमार्फत क्षेत्रको समग्र उन्नति गर्ने योजना प्रस्तुत गरेका थिए। घरदैलो तथा भेटघाट अभियानका क्रममा देखिएको जनउत्साह र सक्रिय सहभागिताले पर्सा–१ मा कांग्रेसको अवस्था थप मजबुत बन्दै गएको सहभागीहरूको भनाइ छ।
कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय द्विवेदी, क्षेत्रीय सभापति अरबिन्द गुप्ता, उपसभापति अनिल सिंह, सचिव हरि यादव, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, हरिन्द्र यादव, मिन्टु सिंह, जितेन्द्र पुरुष, मनोजा चौधरी, किरण सरकार, सुरेन्द्र लामिछाने, रामनिवास यादव लगायत नेपाल विद्यार्थी संघ, तरुण दलका नेता–कार्यकर्ता तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।