फेटा फूलवरिया र बतरा टोलमा जसपा नेपालको भव्य घरदैलो, मधेसीको शिर झुक्न दिने छैनौं’: उम्मेद्वार सञ्जु साह
फागुन १, बारा – जनता समाजवादी पार्टी नेपालका बारा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सन्जु साहको चुनावी अभियान दिनप्रतिदिन प्रभावकारी बन्दै गएको छ। आज फेटा गाउँपालिका अन्तर्गत फेटा फूलवरिया र बतरा टोलमा भव्य घरदैलो कार्यक्रम सम्पन्न भएको छ।
घरदैलोका क्रममा उम्मेदवार साहले प्रत्येक स्थानीयसँग भेटघाट गर्दै आशीर्वाद लिएका थिए। उनले जनचाहना अनुसार काम गर्ने र मधेसी समुदायको सम्मान तथा अधिकारको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे। “मधेसीको शिर कहिल्यै झुक्न दिने छैनौं, जनताको विश्वासलाई काममार्फत प्रमाणित गर्नेछु,” उनले भने।
स्थानीय बासिन्दाले खानेपानी, सडक मर्मत, कृषि उत्पादनको बजारीकरण, महिला सशक्तीकरण तथा युवालाई स्वरोजगारसँग जोड्ने कार्यक्रम ल्याउनुपर्ने माग राखेका थिए। साहले यी विषयलाई प्राथमिकतामा राखेर योजनाबद्ध ढंगले अघि बढ्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा पूर्व मुख्यमंत्री जितेन्द्र सोनल, पार्टीका नेता जयप्रकाश यादव, रामेश्वर साह कलवार, मदन गुप्ता, सीताराम गुप्ता, महिला नेतृ रिता पटेल, शारदा यादव लगायत स्थानीयको ठूलो उपस्थिति रहेको थियो।
यसअघि परवानीपुर गाउँपालिका–१ बुनियादमा आयोजित सभामा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले सन्जु साहलाई इमानदार र जनतासँग प्रत्यक्ष जोडिएका उम्मेदवारका रूपमा प्रस्तुत गर्दै विजयी गराउन आग्रह गरेका थिए।
जसपा नेपालका अनुसार निरन्तर जनसम्पर्क र घरदैलो अभियानले बारा–४ मा सन्जु साहको पक्षमा माहोल बन्दै गएको दाबी गरिएको छ। पार्टीले आगामी निर्वाचनमा चुनाव चिन्ह ‘छाता’मा मतदान गरी विजयी गराउन मतदातासँग अपिल गरेको छ।