सेस्मी इन्टरनेशनल स्कुलमा “सेस्मी फुड फेस्ट २०८२” भव्य रूपमा सम्पन्न

56

वीरगञ्ज । वीरगञ्जको प्रगतिनगरस्थित सेस्मी इन्टरनेशनल स्कुल मा विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता तथा व्यावहारिक सीप विकास गर्ने उद्देश्यले “सेस्मी फुड फेस्ट २०८२” भव्य रूपमा सम्पन्न भएको छ।

विद्यालय परिसरमै आयोजित फुड फेस्टिबलमा कक्षा १ देखि माध्यमिक तहसम्मका विद्यार्थीहरूले विभिन्न परिकारका स्टल सञ्चालन गर्दै स्वदेशी तथा विदेशी स्वादिष्ट खानाका परिकारहरू प्रस्तुत गरेका थिए। विद्यार्थीहरूले आफैं तयारी, सजावट, मूल्य निर्धारण तथा ग्राहक सेवा सम्हाल्दा कार्यक्रम थप आकर्षक बनेको थियो।

कार्यक्रममा अभिभावक, शिक्षक तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। फुड फेस्टिबल अवलोकन गर्न आएका अभिभावकहरूले विद्यार्थीहरूको आत्मविश्वास, प्रस्तुतीकरण क्षमता तथा समूहकार्यको खुलेर प्रशंसा गरेका थिए।

विद्यालयकी प्रिन्सिपल आशमा सिंह यादव का अनुसार यस्ता सिर्जनात्मक कार्यक्रममार्फत विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै कक्षाकोठाभन्दा बाहिरको व्यवहारिक सीप सिकाउने लक्ष्य राखिएको हो। “फुड फेस्टिबलमार्फत विद्यार्थीहरूले उद्यमशीलता, समूहकार्य, स्वच्छता र ग्राहक सेवा जस्ता व्यवहारिक ज्ञान हासिल गरेका छन्,” उहाँले बताउनुभयो।

विद्यालय प्रशासनका अनुसार फुड फेस्टिबलबाट संकलित रकम सामाजिक सेवामा प्रयोग गरिनेछ। यस्ता कार्यक्रमले विद्यार्थीहरूको पढाइलाई जीवनोपयोगी बनाउँदै समाजप्रति उत्तरदायी नागरिक बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास विद्यालयले लिएको छ।

Leave A Reply

Your email address will not be published.