भारत तेस्रोपटक टी–२० विश्वकप च्याम्पियन, न्युजिल्यान्ड ९६ रनले पराजित

64

काठमाडौं । न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै भारतले आईसीसी टी–२० विश्वकपको उपाधि तेस्रो पटक जितेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा आइतबार सम्पन्न फाइनलमा भारतले कीर्तिमानी प्रदर्शन गर्दै उपाधि उचालेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २५५ रनको विशाल योगफल खडा गरेको थियो। भारतका लागि ओपनर सञ्जु सामसनले सर्वाधिक ८९ रन बनाए। उनले ४६ बलमा पाँच चौका र आठ छक्का प्रहार गरे। इशान किशनले २५ बलमा ५४ रनको अर्धशतकीय इनिङ खेले भने अभिषेक शर्माले २१ बलमा ५२ रन जोडे।

जवाफमा २५६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९ ओभरमै सबै विकेट गुमाउँदै १५९ रनमा सीमित भयो। न्युजिल्यान्डका लागि ओपनर टिम सेफर्टले २६ बलमा ५२ रन बनाए भने कप्तान मिचेल सान्टनरले ४३ रन जोडे।

भारतका बलर जस्प्रीत बुम्राहले उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिए। उनले चार ओभरमा मात्र १३ रन खर्चिए। अक्षर पटेलले तीन विकेट लिए भने अभिषेक शर्मा, हार्दिक पण्ड्या र वरुण चक्रवर्तीले समान एक–एक विकेट लिए।

यस जितसँगै भारतले टी–२० विश्वकप इतिहासमा तेस्रो पटक उपाधि जित्दै आफूलाई सबैभन्दा सफल टोलीका रूपमा स्थापित गरेको छ। भारतले यसअघि सन् २००७ र २०२४ मा पनि उपाधि जितेको थियो।

फाइनलमा भारतले २५६ रनको लक्ष्य प्रस्तुत गर्दै विश्वकप फाइनलमा सबैभन्दा ठूलो लक्ष्य दिने कीर्तिमान पनि बनाएको छ। साथै भारत लगातार दोस्रो पटक विश्वकप जित्ने टोली बनेको छ।

यता न्युजिल्यान्ड भने दोस्रो पटक उपविजेतामै सीमित भएको छ। किवी टोली यसअघि सन् २०२१ मा पनि टी–२० विश्वकपको फाइनलमा पराजित हुँदै उपविजेता बनेको थियो।

Leave A Reply

Your email address will not be published.