प्रधानमन्त्री कप : ५ विकेट लिएका खरेल चम्किए, पुलिस क्लब ६ विकेटले विजयी

45

१७ चैत्र वीरगञ्ज आनन्द पटेल ।

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत वीरगञ्जस्थित टीबी साह क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई ६ विकेटले पराजित गर्दै उत्कृष्ट जित दर्ता गरेको छ।

टस जितेर पहिले फिल्डिङ रोजेको पुलिस क्लबले बलिङतर्फ प्रभावशाली प्रदर्शन गर्दै कोशी प्रदेशलाई ४२.५ ओभरमा १६२ रनमै अलआउट गर्न सफल भयो। कोशीका लागि सुवजन थपलियाले ४८ रन र सुमन श्रेष्ठले ४३ रनको योगदान दिए पनि अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

पुलिस क्लबका लागि दिनेश खरेल घातक सावित भए। उनले ७.५ ओभरमा २१ रन खर्चेर ५ विकेट लिँदै विपक्षी टोलीलाई सस्तैमा समेट्न महत्वपूर्ण भूमिका खेले। साथै सागर ढकालले २ विकेट लिए।

१६३ रनको लक्ष्य पछ्याएको नेपाल पुलिस क्लबले ३३.५ ओभरमा ४ विकेट गुमाएर १६५ रन बनाउँदै सहज जित हात पार्यो। पुलिसका लागि मोहम्मद आसिफ शेखले उत्कृष्ट ८१ रन बनाए भने राशिद खानले ७२ रनको योगदान दिए।

उत्कृष्ट बलिङ प्रदर्शनका लागि दिनेश खरेललाई ‘प्लेयर अफ द म्याच’ घोषित गरिएको छ।

प्रधानमन्त्री कप अन्तर्गत वीरगञ्जमा भइरहेका खेलहरूले स्थानीय दर्शकमा उत्साह थप्नुका साथै नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ।

Leave A Reply

Your email address will not be published.