आजदेखि देशभर नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना अभियान शुरू
काठमाडौं, १५ वैशाख । सरकारको निर्णयअनुसार नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना कार्यक्रम आजदेखि औपचारिक रूपमा शुरू भएको छ । सरकारले वैशाख १५ गतेदेखि भर्ना अभियान र वैशाख २१ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्ने निर्णय गरेपछि देशभरका विद्यालयमा भर्ना प्रक्रिया शुरू गरिएको हो ।
यसअघि हरेक वर्ष वैशाख २ गतेदेखि नयाँ शैक्षिक सत्र शुरू हुँदै आएको थियो । निजी विद्यालयहरूले भने सरकारी तालिकाभन्दा अगावै भर्ना तथा कक्षा सञ्चालन गर्दै आएका थिए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मन्त्रिपरिषद्को चैत २२ गतेको निर्णयअनुसार विद्यालयलाई संशोधित शैक्षिक क्यालेन्डर कार्यान्वयन गर्न निर्देशन दिएको थियो । साथै, चैत २३ गतेदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा लागू गरिएकाले सोहीअनुसार शैक्षिक कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको थियो ।
तर, सरकारको निर्णयप्रति असहमति जनाउँदै काठमाडौं उपत्यका मेयर्स फोरमले वैशाख ११ गतेदेखि नै विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न र वैशाख १५ गतेदेखि नियमित पठनपाठन शुरू गर्न उपत्यकाभित्रका पालिकालाई आग्रह गरेको थियो । यसका कारण भर्ना प्रक्रिया केही अन्योलपूर्ण बनेको थियो ।
सरकारको निर्णयलाई अवज्ञा गर्दै काठमाडौं उपत्यकाका केही पालिका तथा उपत्यकाबाहिरका केही स्थानीय तहले वैशाख ११ गतेदेखि नै भर्ना अभियान सञ्चालन गरिसकेका छन् भने केही विद्यालयले आजदेखि नै नियमित कक्षा सञ्चालन पनि शुरू गरेका छन् ।