वीरगञ्जमा चौथो नगर राष्ट्रपति रनिङ सिल्ड तेक्वान्दो छनोट प्रतियोगिता सम्पन्न
वीरगञ्ज, वैशाख २१ — वीरगञ्ज महानगरपालिकाको आयोजनामा वीरगञ्जस्थित घडिअर्वा पोखरी कभर्डहलमा ‘चौथो नगर राष्ट्रपति रनिङ सिल्ड तेक्वान्दो छनोट प्रतियोगिता’ सम्पन्न भएको छ। कार्यक्रम सभापति गणेशमान श्रेष्ठको अध्यक्षता तथा पर्सा जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष दीपक साह कानुको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
करिब ३०० खेलाडी तथा खेलप्रेमीहरूको सहभागिता रहेको प्रतियोगितामा विभिन्न तौल समूहमा प्रतिस्पर्धा गराइएको थियो। खेलाडीहरूको तौल र प्रदर्शनका आधारमा विजेता घोषणा गरिएको आयोजकले जनाएको छ।
पुरुष ४५ केजी तौल समूहमा गौतम कुमार प्रजापति प्रथम, जेनिस खड्का द्वितीय तथा मोहित लिम्बू र प्रणिल थापा तृतीय भए। ४८ केजी तर्फ आशिष कुमार सराफ प्रथम, विकी कुमार यादव द्वितीय तथा सुलभ थारु र सक्षम चौरसिया तृतीय बने।
त्यसैगरी, ५१ केजी समूहमा शिवजी कुमार पटेल प्रथम, अब्राहम भुजु द्वितीय तथा जानिलाल जाफर र आयुस चौधरी तृतीय भए। ५५ केजी तर्फ स्वयममान रन्जितकार प्रथम र प्रिन्स कुमार द्वितीय भए। अन्य प्रतिस्पर्धामा शिवम कुमार प्रथम तथा शेख रहमान हुसेन द्वितीय घोषित भए।
पुम्से (काटा) तर्फ पनि खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए। एकल पुरुष पुम्सेमा हबिबुल्लाह मियाँ प्रथम, आगमन ठकुरी द्वितीय तथा साजन पटेल र आयुस ठकुरी तृतीय भए। एकल महिला पुम्सेमा रोशनी मोक्तान प्रथम हुन सफल भइन्।
प्रतियोगितालाई निष्पक्ष र व्यवस्थित बनाउन जुरीको भूमिकामा महमद सकिल र गणेशमान श्रेष्ठ रहेका थिए भने रेफ्रीतर्फ राजेन्द्र शाही, महमद मन्सुर हवारी, विक्रान्त डङ्गोल, सोएब अख्तर र दिपेश मानन्धर लगायतले जिम्मेवारी निर्वाह गरेका थिए।
कार्यक्रमको समापन गर्दै सभापति गणेशमान श्रेष्ठले छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूले आगामी प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिएका छन्।