पश्चिमी पाकिस्तानमा बस दुर्घटना : ४० जनाको मृत्यु, ११ घाइते
पश्चिमी पाकिस्तानमा शुक्रबार यात्रुवाहक बस दुर्घटना हुँदा ४० जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
क्वेटाबाट पेशावरतर्फ जाँदै गरेको बस पहाडी दाना सार क्षेत्रमा सडकबाट करिब २० मिटर तल गहिरो खोलामा खसेको थियो। दुर्घटनामा ४० जनाको घटनास्थलमै मृत्यु भएको झोब जिल्लाको आपतकालीन केन्द्रका प्रमुख सनाउल्लाह सेरानीले जानकारी दिए।
दुर्घटनामा घाइते भएका यात्रुहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको सेरानीले बताए। उनका अनुसार बस करिब २१ देखि २४ मिटर तल खोलामा खसेको थियो।
दुर्गम तथा पहाडी क्षेत्रमा दुर्घटना भएकाले उद्धार कार्यमा कठिनाइ भएको जनाइएको छ।
बलुचिस्तान प्रान्तका मुख्यमन्त्रीका प्रवक्ता शाहिद रिन्दले बस प्रान्तीय राजधानी क्वेटाबाट खैबर पख्तुनख्वा प्रान्तको पेशावर सहरतर्फ जाँदै गर्दा दुर्घटनामा परेको पुष्टि गरेका छन्। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ दुवै प्रान्तका उद्धार टोली घटनास्थलमा परिचालन गरिएको उनले बताए।
पाकिस्तानमा ट्राफिक नियमको उल्लङ्घन, तीव्र गति, कमजोर सडक सुरक्षा मापदण्ड तथा लापरवाहीपूर्ण सवारी सञ्चालनका कारण सडक दुर्घटनाका घटनाहरू बारम्बार हुने गरेका छन्।