एलसीआईएफको १ करोड ४० लाख सहयोगमा मानव सेवा आश्रमको भवन निर्माण, उद्घाटन तथा हस्तान्तरण

36

वीरगञ्ज । लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम र लायन्स क्लब अफ वीरगञ्ज संस्कृति गोल्डको आयोजनामा मानव सेवा आश्रमको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण गरिएको छ।

लायन्स क्लब इन्टरनेसनल फाउन्डेसन (एलसीआईएफ) को १ करोड ४० लाख रुपैयाँ आर्थिक सहयोगमा वीरगञ्ज महानगरपालिका–लक्ष्मणवा–नौतन क्षेत्रमा निर्माण गरिएको भवन बुधबार आयोजित एक कार्यक्रमबीच उद्घाटन तथा हस्तान्तरण गरिएको हो।

भवनको उद्घाटन लायन्स क्लब इन्टरनेसनलका पूर्व अन्तर्राष्ट्रिय निर्देशक लायन सञ्जय खेतानले गर्नुभएको थियो। कार्यक्रमको संयुक्त अध्यक्षता लायन्स क्लब अफ वीरगञ्ज मिलेनियमका अध्यक्ष लायन वीरेन्द्र साह र लायन्स क्लब अफ वीरगञ्ज संस्कृति गोल्डकी अध्यक्ष लायन खुश्बु अग्रवालले गर्नुभएको थियो।

कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा, डिस्ट्रिक्ट गभर्नर लायन रामबिहारी पाण्डे, मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारी, मानव सेवा आश्रम वीरगञ्जका अभिभावक परिवार संयोजक हरि गौतमलगायतको सहभागिता थियो।

त्यसैगरी हेटौँडाबाट आउनुभएका अंकिता सुमार्गी, अरुण सुमार्गी, बसन्त सर, लायन बलिराम भट्ट, पूर्व डिस्ट्रिक्ट गभर्नर (पीडीजी) लायन डी.एन. अग्रवाल, पीडीजी लायन डा. आर.पी. खेतान, क्याबिनेट सचिव लायन बासु तिमिल्सिना, क्याबिनेट कोषाध्यक्ष लायन रामेश्वर गुप्ता, लायन गणेश लाठ, लायन प्रकाश थारू, एरिया चिफ लायन सुनील गुप्ता तथा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२२ ईका जोन चेयरपर्सन एवं डिस्ट्रिक्ट चेयरपर्सन रक्सौलका बिमल सर्राफलगायतको उपस्थिति रहेको थियो।

नवनिर्मित भवन हस्तान्तरण भएपछि मानव सेवा आश्रममा आश्रित असहाय तथा संरक्षणको आवश्यकता भएका व्यक्तिहरूको आवास, संरक्षण र सेवा व्यवस्थापनमा थप सहजता हुने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार भवनले आश्रममा आश्रय लिइरहेका व्यक्तिहरूलाई व्यवस्थित आवास तथा आवश्यक सेवा उपलब्ध गराउन महत्वपूर्ण सहयोग पुर्‍याउनेछ।

कार्यक्रमको सञ्चालन मानव सेवा आश्रमका देवेश मानवले गर्नुभएको थियो।

Leave A Reply

Your email address will not be published.