मुनलाईट र सनलाईट मावि फाइनलमा प्रवेश, उपाधि भिडन्त माघ २४ मा

114

वीरगञ्ज । प्याब्सन नेपाल मेडिसिटी टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा मुनलाईट माध्यमिक विद्यालय र सनलाईट माध्यमिक विद्यालय प्रवेश गरेका छन्।

पहिलो सेमिफाइनल खेलमा सेन्ट जेभियर्स र मुनलाईट मावि आमनेसामने भएका थिए। टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट जेभियर्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै मात्र ८० रन जोड्न सक्यो। मुनलाईटका बलरहरूको कडा बलिङसामु सेन्ट जेभियर्सका ब्याट्सम्यानहरू खुलेर खेल्न सकेनन्।

८१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको मुनलाईट माविले १३.१ ओभरमै ६ विकेट गुमाएर ८४ रन बनाउँदै ४ विकेटको सहज जित हात पार्‍यो। यस जितसँगै मुनलाईट मावि प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भयो। मुनलाईट यसअघि पनि प्रतियोगिताको नवौँ संस्करणको उपाधि जितिसकेको अनुभवी टोली हो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका दिलराज यादव ‘म्यान अफ द म्याच’ घोषित भए।

त्यस्तै, दोस्रो सेमिफाइनल खेल सनलाईट मावि र गोल्डेन फ्युचरबीच सम्पन्न भयो। टस जितेर पहिले ब्याटिङ गरेको सनलाईट माविले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११२ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्‍यो।

जवाफमा ब्याटिङमा उत्रिएको गोल्डेन फ्युचर ९६ रनमै अलआउट भएपछि सनलाईट मावि १६ रनले विजयी भयो। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका सागर रौनियार ‘म्यान अफ द म्याच’ घोषित भए।

अब प्रतियोगिताको उपाधिका लागि मुनलाईट मावि र सनलाईट मावि माघ २४ गते शनिबार दिउँसो १ बजे वीरगञ्जस्थित टीबी साह क्रिकेट मैदानमा आमनेसामने हुनेछन्।

यसअघि सोही दिन बिहान ८ बजे तेस्रो स्थानका लागि सेन्ट जेभियर्स र गोल्डेन फ्युचरबीच प्रतिस्पर्धा हुने प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले जानकारी दिए।

त्यसैगरी, माघ २३ गते शुक्रबार क्वाटरफाइनलबाट बाहिरिएका गौतम मावि र मनकामना मावि, तथा वीरगञ्ज एकेडेमी र डिएभी स्कूलबीच हुने खेलका विजेताहरूबीच प्लेट च्याम्पियनसिप उपाधिका लागि प्रतिस्पर्धा हुने पनि सचिव संग्रौलाले बताए।

Leave A Reply

Your email address will not be published.