साउथ जोन माविको १७औँ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न, उत्कृष्ट विद्यार्थीहरू सम्मानित

8

वीरगञ्ज, २९ माघ ।

वीरगञ्ज महानगरपालिका वडा नं. १३ राधेमाईस्थित साउथ जोन माध्यमिक विद्यालयको १७औँ वार्षिक उत्सव समारोह भव्य रूपमा सम्पन्न भएको छ। समारोहको उद्घाटन वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले दीप प्रज्वलन गरी गरेका थिए।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख सिंहले विद्यार्थीहरूको रुचि र भावनालाई अभिभावकहरूले बुझ्नुपर्नेमा जोड दिए। बालबालिकाले रुचि राखेको विषयमा अभिभावकले सहयोग गरे भविष्य उज्ज्वल हुने उनको भनाइ थियो।

विशिष्ट अतिथि वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले विद्यालयसँगै अभिभावकको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने उल्लेख गर्दै बालबालिकाको हरेक गतिविधिमा अभिभावकले ध्यान दिनुपर्ने बताए।

कार्यक्रममा वडा नं. १३ का अध्यक्ष हिरागिरी, प्याप्सनका केन्द्रीय प्राज्ञिक परिषद् सदस्य डा. हरिशंकर शाह, मधेस प्रदेश सल्लाहकार मनिपाख्रिन लालबाबु पटेल, प्याप्सन मधेस प्रदेशका वरिष्ठ सल्लाहकार श्याम केसी, वरिष्ठ उपाध्यक्ष सुशीला शाह, कोषाध्यक्ष प्रवीन चौधरी, राजेन्द्र कोइराला, प्रकाश थारु, प्रकाश उपाध्याय, मानव सेवा आश्रमका देवेश मानव, एन प्याप्सनका अध्यक्ष राम श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

विद्यालयका सञ्चालक एवं प्रिन्सिपल सरोज प्रसाद चौधरीको सभापतित्वमा सम्पन्न समारोहमा वर्षभरि विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको थियो।

प्रिन्सिपल चौधरीले विद्यालयको १७ वर्षे यात्रा समर्पण, निरन्तर प्रयास र सामूहिक योगदानको परिणाम भएको बताए। गुणस्तरीय शिक्षासँगै अनुशासन, सिर्जनशीलता र व्यक्तित्व विकासमा विद्यालयले विशेष ध्यान दिँदै आएको उनले उल्लेख गरे। फुटबल, क्रिकेट, भलिबल, हस्तकला, चित्रकला, वक्तृत्वकला तथा विभिन्न सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरूको सक्रिय सहभागिता गराइँदै आएको जानकारी दिए।

भाइस प्रिन्सिपल अशोक संग्रौलाले विद्यार्थीहरूलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी उनीहरूभित्र लुकेका प्रतिभा उजागर गर्न विद्यालयले उचित वातावरण तयार गरिरहेको बताए।

विद्यालयले आगामी दिनमा थप आधुनिक र प्राविधिक शिक्षण प्रणाली अवलम्बन गर्दै आत्मविश्वासी, सक्षम र उत्तरदायी नागरिक तयार गर्ने लक्ष्य लिएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.