जीतपुरसिमरा उद्योग वाणिज्य संघको तेस्रो अधिवेशन सम्पन्न, असार ७ मा निर्वाचन हुने
जीतपुरसिमरा, असार २ ।
जीतपुरसिमरा उद्योग वाणिज्य संघको तेस्रो अधिवेशनसहितको वार्षिक साधारणसभा भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। संघका अध्यक्ष मोहन शर्माको अध्यक्षतामा सम्पन्न अधिवेशनमा उद्योगी, व्यवसायी, विभिन्न सरकारी निकायका प्रतिनिधि, राजनीतिक दलका नेता, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अधिवेशनका अवसरमा संघद्वारा प्रकाशित स्मारिकाको विमोचन गरिएको थियो भने अध्यक्षको वार्षिक प्रतिवेदन सर्वसम्मत रूपमा अनुमोदन गरिएको थियो। बन्दसत्रमा उद्योग–व्यवसाय क्षेत्रका चुनौती, लगानीमैत्री वातावरण निर्माण, निजी क्षेत्रका सरोकार तथा व्यवसायिक वातावरण सुधारका विषयमा व्यापक छलफल भएको थियो।
कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याउने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख तथा उपप्रमुख, महासंघका केन्द्रीय, जिल्ला तथा नगर तहका पदाधिकारी, इलाका प्रशासन कार्यालय, आन्तरिक राजस्व कार्यालय, बस्तुगत समितिहरू, अग्रज उद्योगी–व्यवसायी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सल्लाहकार, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी तथा सम्पूर्ण सहभागीप्रति संघले आभार व्यक्त गरेको छ।
यसैगरी, संघद्वारा प्रकाशित स्मारिकामा शुभकामना सन्देश प्रदान गर्ने मन्त्रीहरू, प्रमुख जिल्ला अधिकारी तथा अन्य शुभेच्छुकहरूप्रति पनि धन्यवाद ज्ञापन गरिएको छ। कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल, निजगढ उद्योग वाणिज्य संघका अध्यक्ष दीपेन्द्र श्रेष्ठ तथा पर्सौनी उद्योग वाणिज्य संघका अध्यक्ष तुल्सी गुप्तालगायतको उपस्थिति रहेको थियो।
अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएपछि आगामी नेतृत्व चयन प्रक्रियाको जिम्मेवारी निर्वाचन समितिलाई हस्तान्तरण गरिएको छ। निर्वाचन अधिकृत अधिवक्ता शरद चन्द्र भट्टराईका अनुसार आगामी असार ७ गते निर्वाचन तथा असार ११ गते नवनिर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण एवं पदभार ग्रहण कार्यक्रम आयोजना गरिनेछ। यस सम्बन्धी विस्तृत निर्वाचन तालिका समेत सार्वजनिक गरिएको छ।
समापन समारोहमा अध्यक्ष मोहन शर्माले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पदाधिकारी, सदस्य, उद्योगी–व्यवसायी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै संघको निरन्तर प्रगति र क्षेत्रीय आर्थिक विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए।
उनले “जय उद्योग, जय व्यापार, जय पर्यटन” भन्ने नारासहित उद्योग, व्यापार तथा पर्यटन क्षेत्रको विकासमा संघ सधैं प्रतिबद्ध रहने विश्वास व्यक्त गरे।