भारतमा स्वास्थ्य, पोषण र महिला सशक्तीकरणका सूचकमा उल्लेखनीय सुधार राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षण–६ सार्वजनिक, मातृ तथा शिशु स्वास्थ्य सेवामा ठूलो प्रगति
वीरगञ्ज, असार २ आनन्द पटेल । भारत सरकारले राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षण–६ (NFHS-6) का प्रमुख निष्कर्ष सार्वजनिक गरेको छ। भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको उक्त सर्वेक्षणबारे जानकारी दिन मंगलबार वीरगञ्जस्थित भारतको महावाणिज्य दूतावासमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो।
पत्रकार सम्मेलनमा भारतको महावाणिज्य दूतावास, वीरगञ्जका महावाणिज्यदूत देवी सहाय मीणाले सर्वेक्षणका मुख्य निष्कर्ष तथा उपलब्धिबारे विस्तृत जानकारी दिएका थिए। कार्यक्रमको सहजीकरण दूतावासका अधिकारी मनीष दासले गरेका थिए। कार्यक्रममा पर्सा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
महावाणिज्यदूत मीणाले सन् २०२३–२४ मा सञ्चालन गरिएको राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षण–६ ले भारतमा स्वास्थ्य, पोषण, मातृ तथा शिशु स्वास्थ्य, परिवार नियोजन, महिला सशक्तीकरण र स्वास्थ्य सुरक्षाका सूचकहरूमा उल्लेखनीय सुधार भएको देखाएको बताए।
उनका अनुसार मातृ तथा शिशु स्वास्थ्य सेवामा निरन्तर सुधार भएको छ। प्रसवपूर्व स्वास्थ्य परीक्षण (एएनसी) प्राप्त गर्ने गर्भवती महिलाको संख्या ९५.९ प्रतिशत पुगेको छ। पहिलो त्रैमासिकमै प्रसवपूर्व जाँच गराउने महिलाको दर ७६.२ प्रतिशत पुगेको छ भने कम्तीमा चारपटक एएनसी सेवा लिने महिलाको अनुपात ६५.२ प्रतिशत पुगेको छ।
त्यसैगरी, संस्थागत प्रसूति दर ९०.६ प्रतिशत पुगेको छ भने दक्ष स्वास्थ्यकर्मीको उपस्थितिमा हुने प्रसूति सेवा ९१.३ प्रतिशत पुगेको छ। प्रसूति पश्चात् नवजात शिशुको २ दिनभित्र स्वास्थ्य जाँच गराउने दर ८५.३ प्रतिशत पुगेको सर्वेक्षणमा उल्लेख छ।
गर्भावस्थामा पोषणतर्फ पनि सुधार देखिएको छ। १०० दिन वा सोभन्दा बढी आइरन तथा फोलिक एसिड सेवन गर्ने महिलाको अनुपात ५४.९ प्रतिशत पुगेको छ भने १८० दिन वा सोभन्दा बढी सेवन गर्ने दर ३७.८ प्रतिशत पुगेको छ।
परिवार नियोजनतर्फ कुल प्रजनन दर (TFR) २.० मा स्थिर रहेको छ भने गर्भनिरोधक साधनको प्रयोग दर ६९.१ प्रतिशत पुगेको छ।
बाल स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनीय प्रगति भएको छ। १२ देखि २३ महिनाका बालबालिकामा पूर्ण खोप कवरेज ८७.१ प्रतिशत पुगेको छ। रोटाभाइरस खोपको पहुँच ८५.४ प्रतिशत पुगेको छ भने दादुरा खोपको दोस्रो मात्रा ७१.८ प्रतिशत पुगेको छ।
बाल पोषणतर्फ पाँच वर्षमुनिका बालबालिकामा होचोपन २९.३ प्रतिशतमा झरेको छ भने अत्यधिक दुब्लोपन ५.२ प्रतिशतमा घटेको छ। जन्मेको एक घण्टाभित्र स्तनपान गराउने दर ५०.१ प्रतिशत पुगेको छ।
स्वास्थ्य बीमा तथा वित्तीय सुरक्षामा पनि उल्लेखनीय विस्तार भएको छ। स्वास्थ्य बीमा वा वित्तीय सुरक्षा योजनामा आबद्ध परिवारको संख्या ६०.२ प्रतिशत पुगेको छ। आयुष्मान भारत–प्रधानमन्त्री जन आरोग्य योजना जस्ता कार्यक्रमले सस्तो तथा सुलभ स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।
महिला सशक्तीकरणका सूचकहरूमा पनि सुधार देखिएको छ। इन्टरनेट प्रयोग गर्ने महिलाको संख्या ६४.३ प्रतिशत पुगेको छ। आफ्नै बैंक खाता सञ्चालन गर्ने महिलाको अनुपात ८९ प्रतिशत पुगेको छ भने मोबाइल फोन प्रयोग गर्ने महिलाको दर ६३.६ प्रतिशत पुगेको छ।
महावाणिज्यदूत मीणाले यी सबै उपलब्धिहरू भारत सरकारले सञ्चालन गरेका जननी सुरक्षा योजना, प्रधानमन्त्री सुरक्षित मातृत्व अभियान, पोषण अभियान, आयुष्मान भारत लगायतका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका कारण सम्भव भएको बताए।
सर्वेक्षणका निष्कर्षहरूले भारतले स्वास्थ्य, पोषण, महिला सशक्तीकरण र सामाजिक सुरक्षाका क्षेत्रमा निरन्तर प्रगति गर्दै दिगो विकास लक्ष्य (SDGs) प्राप्तितर्फ महत्वपूर्ण उपलब्धि हासिल गरिरहेको पुष्टि गरेको उनले उल्लेख गरे।