रौतहटमा कटुवा पेस्तोलसहित एक युवक पक्राउ
रौतहट । नेपाल प्रहरी अन्तर्गत जिल्ला प्रहरी कार्यालय रौतहटले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहट, गौरद्वारा जारी प्रेस विज्ञप्तिअनुसार विशेष सूचनाको आधारमा भारतबाट नेपालतर्फ अवैध रूपमा साना हतियार ओसारपसार भइरहेको भन्ने सूचनापछि प्रहरी टोलीले चेकजाँच कडाइ गरेको थियो। सोही क्रममा बौधीमाई नगरपालिका–७ स्थित सडकखण्डमा चेकजाँच गर्दा एक युवकलाई शंकास्पद अवस्थामा फेला पारिएको हो।
प्रहरीले उनको शरीर तलासी लिँदा उनले लगाएको पाइन्टभित्र लुकाइ राखिएको अवस्थामा एक थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने सामग्री बरामद गरेको जनाएको छ। पक्राउ पर्नेमा भारत, बिहार राज्य पूर्वी चम्पारण जिल्ला मोतिहारी क्षेत्रका २० वर्षीय सूर्यकुमार दास रहेका छन्।
उनको साथबाट एउटा मोबाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दासलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।
प्रहरीले सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न निगरानी अझै कडा पारिएको समेत जनाएको छ।