वीरगञ्ज महानगरपालिकाले संस्थागत तथा निजी विद्यालयहरूलाई लक्षित गर्दै कडा निर्देशन जारी गरेको छ। महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले सार्वजनिक बिदाको दिन विद्यालय सञ्चालन नगर्न, विद्यालय परिसरभित्र व्यापारिक गतिविधि रोक्न तथा विद्यार्थीमाथि अनावश्यक पुस्तकको बोझ नथोपर्न चेतावनी दिएको हो।
महाशाखाले नेपाल सरकारले आइतबार सार्वजनिक बिदा घोषणा गरिसकेको अवस्थामा अर्को सूचना जारी नभएसम्म सम्पूर्ण विद्यालयहरूमा पठनपाठन पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको जनाएको छ।
शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछाने का अनुसार केही विद्यालयहरूले सार्वजनिक बिदाको दिनसमेत कक्षा सञ्चालन गरिरहेको सूचना प्राप्त भएपछि अनुगमनलाई थप प्रभावकारी बनाइने भएको हो। महानगरपालिकाले सार्वजनिक बिदाको दिन विद्यालय सञ्चालन गर्नु सरकारको निर्णयविपरीत मात्र नभई शैक्षिक अनुशासन र कानुनी व्यवस्थाको उल्लङ्घन भएको जनाएको छ।
त्यसैगरी, केही निजी तथा संस्थागत विद्यालयहरूले विद्यालय परिसरभित्रै पाठ्यपुस्तक, विद्यालय पोशाक तथा स्टेशनरी सामग्री बिक्री गरिरहेको गुनासो आएपछि प्रशासन थप कडा बनेको छ। विद्यालयलाई व्यापारिक केन्द्रका रूपमा प्रयोग गर्दा अभिभावकमाथि अनावश्यक आर्थिक भार थपिएको भन्दै यस्ता गतिविधि तत्काल बन्द गर्न निर्देशन दिइएको छ।
महाशाखाले विद्यालय हाताभित्रबाट किताब, ड्रेस तथा स्टेशनरी बिक्री गरेको पाइएमा कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ। अनुगमनका क्रममा यस्ता गतिविधि फेला परे सम्बन्धित विद्यालय प्रशासनविरुद्ध कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।
यस्तै, पाठ्यक्रम विकास केन्द्र ले तोकेको भन्दा बढी तथा अनावश्यक पुस्तक विद्यार्थीमाथि थोपर्ने कार्यप्रति पनि महानगरपालिका गम्भीर बनेको छ। अत्यधिक पुस्तकको बोझले बालबालिकाको मानसिक तथा शारीरिक विकासमा असर पुग्ने भन्दै यस्तो प्रवृत्ति रोक्न आग्रह गरिएको छ।महानगरपालिकाले आवश्यकभन्दा बढी पुस्तक प्रयोग गराएर अभिभावकमाथि आर्थिक भार थप्ने र विद्यार्थीलाई तनाव दिने कार्य सह्य नहुने स्पष्ट पारेको छ।शैक्षिक क्षेत्रलाई व्यवस्थित, मर्यादित र विद्यार्थीमैत्री बनाउन महानगरपालिकाले थालेको पहललाई अभिभावक तथा शिक्षाप्रेमीहरूले सकारात्मक रूपमा लिएको बताइएको छ।महानगरपालिकाले “कानुन मान्नु सबैको साझा कर्तव्य हो” भन्दै सरकारको निर्देशन पूर्ण रूपमा पालना गर्न सम्पूर्ण विद्यालय प्रशासनलाई आग्रह गरेको छ। साथै अब पनि सार्वजनिक बिदाको दिन विद्यालय सञ्चालन गर्ने, विद्यालयबाटै किताब तथा पोशाक बिक्री गर्ने वा विद्यार्थीमाथि अनावश्यक पुस्तकको बोझ थप्ने कार्य दोहोरिए कडा कारबाही गरिने स्पष्ट चेतावनी दिएको छ।