साथ–साथ सिकाइ सञ्जाल पर्साको निष्कर्षः अधिकार रक्षकलाई सुरक्षा र नीति आवश्यक

65

बैशाख २, वीरगञ्ज । साथ–साथ सिकाइ सञ्जाल पर्साले मानव अधिकार रक्षकहरूको वर्तमान अवस्था, उनीहरूले भोगिरहेका चुनौती तथा सरोकारवालाहरूको भूमिकाबारे वीरगञ्जमा एक महत्वपूर्ण छलफल कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम COCAP को सहयोगमा आयोजना गरिएको हो।

छलफलमा COCAP की अन्जु कंडेल, संरक्षण अधिकृत पवित्रा कार्की, नारायणी अस्पताल अन्तर्गत OCMC प्रमुख हेमा थापा, पोखरिया नगरपालिकाकी पूर्व उपमेयर सलमा खातुन, अधिकारकर्मीहरू इन्दिरा दहाल, रमिता कुमारी कुश्वाहा, मानकी देवी पन्जियार, लिला विक, कञ्चन कोईराला, किरण देवी गुप्ता, शबनम खातुन, तेतरी देवी, रमिता देवी, संगीता दास, राजेश्वर राम, जिल्ला प्रहरी कार्यालय पर्साको महिला सेलका प्रतिनिधि तथा सञ्चारकर्मीहरू सहित विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा साथ–साथ सिकाइ सञ्जाल पर्साका संयोजक एवं दलित महिला संघ पर्सा का कार्यकारी निर्देशक निला रामले प्रस्तुतिकरण दिँदै मानव अधिकार रक्षकहरूले सामना गरिरहेका चुनौतीहरूबारे प्रकाश पार्नुभयो। विशेषगरी महिला तथा किशोरीमाथि हुने हिंसा, विभेद र सुरक्षाका सवालहरू प्रमुख चिन्ताका विषय रहेको उहाँले उल्लेख गर्नुभयो।

सहभागी महिलाहरूले मानव अधिकार रक्षकहरूले पीडितहरूको आवाज उठाउँदा उल्टै पिडकबाट धम्की र सामाजिक अवहेलनाको सामना गर्नुपरेको गुनासो गरे। उनीहरूले सरकारले यस विषयमा कडा कानुनी व्यवस्था गर्नुपर्ने माग गर्दै पीडित महिला, किशोरी तथा बालबालिकाका लागि सुरक्षित आवास (सेफ हाउस/सेफ होम) को अभाव मुख्य चुनौतीको रूपमा औंल्याए। स्थानीय सरकारले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगरेको भन्दै चिन्ता समेत व्यक्त गरिएको थियो।

त्यसैगरी, केही सञ्चारकर्मीहरूले जबर्जस्तीकरणी जस्ता संवेदनशील घटनामा पीडितको पहिचान सार्वजनिक गरिने प्रवृत्तिप्रति आपत्ति जनाउँदै यस्तो कार्यले पीडितको अधिकार हनन हुनुका साथै न्याय प्राप्तिमा बाधा पुग्ने उल्लेख गरे। यसतर्फ सम्बन्धित निकायले कडाइका साथ कारबाही गर्नुपर्ने धारणा राखिएको थियो।

कार्यक्रमको निष्कर्षमा सरोकारवालाबीच समन्वय, जनचेतना अभिवृद्धि तथा प्रभावकारी नीति कार्यान्वयनमार्फत मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। साथै मानव अधिकार रक्षकहरूको सुरक्षा, सशक्तीकरण र संस्थागत सहयोगका लागि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिनुपर्नेमा जोड दिइएको थियो।

Leave A Reply

Your email address will not be published.