६ महिनादेखि रोकिएको विपद् राहत वितरण प्रक्रिया अघि बढ्यो, १५ पीडित परिवारले राहत पाउने

24

वीरगञ्ज, असार १८ — वीरगञ्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमको पहलपछि विगत ६ महिनादेखि रोकिएको विपद् राहत रकम वितरण प्रक्रिया अघि बढेको छ। महानगरपालिकाका विभिन्न वडाका आगलागी, बाढी तथा हावाहुरीबाट प्रभावित १५ परिवारले राहत पाउने भएका छन्।

कार्यवाहक प्रमुख आलमले विपद् व्यवस्थापन शाखामा प्राप्त निवेदनमाथि चासो देखाउँदै आवश्यक छानबिन गर्न निर्देशन दिएपछि वडा नं. १४, १७, १९ र २६ लगायतका क्षेत्रमा प्राकृतिक विपद्बाट क्षति बेहोरेका वास्तविक पीडितहरूको पहिचान गरिएको हो।

क्षतिको प्रकृति र पीडितहरूको अवस्थालाई आधार मानी प्रतिपरिवार ५ हजारदेखि २५ हजार रुपैयाँसम्म राहत उपलब्ध गराउने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ। यससँगै लामो समयदेखि राहतको प्रतीक्षामा रहेका प्रभावित परिवारलाई राहत उपलब्ध हुने भएको छ।

विपद् व्यवस्थापन शाखा प्रमुख विभा मिश्राका अनुसार कार्यवाहक प्रमुख आलमको सक्रिय समन्वय र निर्देशनका कारण लामो समयदेखि रोकिएको प्रशासनिक प्रक्रिया टुंगिएको हो। राहत रकम केही दिनभित्रै पीडितहरूको हातमा पुग्ने उहाँले जानकारी दिनुभयो।

कार्यवाहक प्रमुख आलमले विपद्को समयमा नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने महानगरपालिकाको दायित्व रहेको उल्लेख गर्दै आगामी दिनमा पनि विपद् प्रभावित नागरिकलाई शीघ्र र प्रभावकारी रूपमा सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

Leave A Reply

Your email address will not be published.