अवैध रूपमा भित्र्याइएका ई–स्कुटरको सूची सार्वजनिक, दाबी गर्न वीरगञ्ज भन्सारको आग्रह
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका दर्जनौँ विद्युतीय स्कुटर (ई–स्कुटर) हरूको विस्तृत सूची सार्वजनिक गरेको छ।
अर्थ मन्त्रालय मातहतको भन्सार विभागको निर्देशनअनुसार विभिन्न समयमा नियन्त्रणमा लिइएका ती ई–स्कुटर विभिन्न ब्रान्ड र मोडलका रहेका छन्। भन्सार प्रक्रिया पूरा नगरी तथा वैध कागजातबिना सीमावर्ती क्षेत्र हुँदै नेपाल भित्र्याइएका सवारी साधनहरू हाल वीरगञ्ज भन्सार कार्यालयको नियन्त्रणमा राखिएको कार्यालयले जनाएको छ।
कार्यालयले सम्बन्धित सवारीधनी वा दाबीदारलाई तोकिएको समयसीमाभित्र स्वामित्व खुल्ने आवश्यक कागजातसहित उपस्थित हुन आग्रह गरेको छ। निर्धारित अवधिभित्र सम्पर्कमा नआए प्रचलित भन्सार ऐनअनुसार जफत प्रक्रिया अघि बढाइने चेतावनी समेत दिइएको छ।

पछिल्लो समय सीमावर्ती क्षेत्रमा भन्सार छली गरी विद्युतीय सवारी साधन भित्र्याउने घटना बढ्दै गएपछि निगरानी तथा नियन्त्रण कडा पारिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ। राजस्व चुहावट रोक्न यस्ता अवैध आयात तथा तस्करी गतिविधिविरुद्ध निरन्तर कारबाही जारी रहने कार्यालयको भनाइ छ।