वीरगंज महानगरले सम्पूर्ण सेवा बन्द गर्ने र साँचो मन्त्रालयलाई बुझाउने निर्णय
वीरगन्ज, ५ जेठ । वीरगन्ज महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको सरुवासम्बन्धी विवाद चर्किँदै जाँदा महानगरको प्रशासनिक कामकाज प्रभावित बनेको छ । करिब तीन महिनादेखि जारी विवाद अझै समाधान हुन नसकेपछि महानगरमा असहज अवस्था सिर्जना भएको हो ।
तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारको मन्त्रिपरिषद् बैठकले २०८२ फागुन १२ गते सहसचिव रेशमलाल कँडेल लाई वीरगन्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाउने निर्णय गरेको थियो । तर महानगरको सहमति बिना गरिएको सरुवा भन्दै मेयर राजेशमान सिंहले उनलाई हाजिर गराउन अस्वीकार गरेपछि विवाद झन् चर्किएको हो ।
मेयर सिंहका अनुसार सरुवा भई आएका कँडेल लामो समयसम्म मन्त्रालयबाट रवाना नलिएर नआएको, पछि काठमाडौंमै बसेर महानगरलाई बदनाम गर्ने गतिविधि गरेको र अहिले मात्र रवाना लिएर आएको कारण उनलाई स्वीकार गर्न नसकिने स्थिति बनेको हो ।
उनले कँडेलको सट्टा अर्को प्रमुख प्रशासकीय अधिकृत पठाए मात्र हाजिर गराउने अडान लिँदै आएका छन् । यसै विषयलाई लिएर महानगरका जनप्रतिनिधिहरूको बैठकले महानगरका सम्पूर्ण सेवा बन्द गर्ने र महानगरको साँचो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई बुझाउने निर्णय गरेको छ ।
मेयर सिंहसहितको टोलीले बुधबार मन्त्रालयमा पुगेर पनि सोही निर्णय दोहोर्याएको जनाइएको छ ।
यसअघि फागुन १२ गतेको निर्णयप्रति असहमति जनाउँदै महानगरले पुनर्विचार गर्न मन्त्रालयलाई पत्राचार गरेको भए पनि मन्त्रालयले पूर्व प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णको आर्थिक तथा प्रशासनिक अधिकार कटौती गर्दै सरुवा कार्यान्वयन गरेको थियो ।
तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको महानगरमा आर्थिक तथा प्रशासनिक कामकाज प्रभावित बनेको छ । कर्मचारीहरूले तलब भत्ता पाउन नसकेको तथा विकास निर्माणका कामहरू समेत अवरुद्ध भएको बताइएको छ ।