एक सातामै १३ हजार भन्दा बढी सवारी चालक कारबाहीमा, १ करोड भन्दा बढी राजस्व सङ्कलन
काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले एक साताको अवधिमा १३ हजार ९० जना सवारी चालक तथा ट्राफिक नियम उल्लङ्घनकर्तामाथि कारबाही गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार वैशाख २९ गतेदेखि हालसम्म गरिएको कारबाहीबाट एक करोड १८ लाख ६ हजार १३ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
उपत्यकाभित्र बढ्दो सवारी चाप, अव्यवस्थित पार्किङ, लापरवाहीपूर्ण सवारी सञ्चालन तथा ट्राफिक नियमको बेवास्ताका कारण दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै ट्राफिक प्रहरीले नियमित चेकजाँच, निगरानी तथा विशेष अभियान सञ्चालन गरेको जनाएको छ ।
ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदी का अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ६२९ जना र राइड सेयरिङसम्बन्धी नियम उल्लङ्घन गर्ने एक हजार ३६ जनामाथि कारबाही गरिएको छ ।
त्यसैगरी रातो बत्ती उल्लङ्घन गर्ने एक हजार २८२, तीव्र गतिमा सवारी चलाउने ७७८, लेन मिच्ने ५४०, सडक फुटपाथ अतिक्रमण गर्ने ६४०, ‘नो हर्न’ क्षेत्र उल्लङ्घन गर्ने एक हजार ६४६ तथा एकतर्फी सडकमा सवारी प्रवेश गराउने ७६२ जना चालक कारबाहीमा परेका छन् ।
प्रहरी उपरीक्षक सुवेदीले ट्राफिक प्रहरीको उद्देश्य केवल राजस्व सङ्कलन नभई नागरिकलाई सुरक्षित यात्रा सुनिश्चित गराउनु र सडक दुर्घटना न्यूनीकरण गर्नु रहेको बताउनुभयो । विशेषगरी मापसे, तीव्रगति, मोबाइल प्रयोग गर्दै सवारी चलाउने तथा ट्राफिक सिग्नल उल्लङ्घन गर्ने गतिविधिविरुद्ध कडाइ गरिएको उहाँको भनाइ छ ।